म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजना र हिमाञ्चल माध्यमिक विद्यालयको सहआयोजनामा शुक्रवारदेखि समुद्र सतहदेखि २३ सय मिटरको उचाइमा रहेको नांगीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको आयोजना र हिमाञ्चल माध्यमिक विद्यालयको सहआयोजनामा शुक्रवारदेखि नांगीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्नपूर्ण गाउँपालिमा सञ्चालित विभिन्न १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । सहभागी विद्यालयहरुका २ सय ७० जना विद्यार्थी खेलाडीहरुले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि भाग लिएका छन् ।

एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुको बीचमा प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । कबड्डी प्रतियोगिता भने यसअघि सम्पन्न भैसकेको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन हुनुपूर्व सहभागी विद्यालयहरु, स्थानीय पुख्र्यौली समूहको नाचगान र नौमती बाजागाजासहित ¥याली गरिएको थियो भने विद्यालयहरुबीच भएको मार्चपास प्रतियोगिता प्रभा मावि नारच्याङ उत्कृष्ट घोषित भएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ३० हजार तथा २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले खेलमा जितहार स्वभाविक प्रक्रिया भएकाले अनुशासनलाई केन्द्रमा राखेर खेल प्रतिभा देखाउन खेलाडी विद्यार्थीहरुलाई सुझाव दिनुभयो । उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै विद्यार्थी खेलाडीको पसिना देशको गौरव र जोश तथा जाँगर भविष्यको प्रेरणा भएको उल्लेख गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले नेपाल सरकारका वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर महाविर पुनको जन्मगाउँ समेत भएकाले उहाँको सम्मानमा नांगीमा खेलकुद प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले खेलकुदजन्य प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्नुका साथै विद्यालयहरुको बीचमा समेत एकापसमा सम्बन्ध स्थापना तथा सहकार्यको भावना विकास गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुद प्रतियोगिताले शारिरीक, मानसिक र व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनहरु ल्याउने बताउँदै विद्यार्थी खेलाडीहरुले निष्पक्ष खेल प्रदर्शन, खेल भावना र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाले प्रतियोगिताबाट एकापसमा सहकार्यको भावना विकास गराउन, खेलकुदमैत्री वातावरण निर्माण र विद्यार्थी तथा युवाहरुको खेल क्षेत्रमा आकर्षण बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले विद्यार्थीहरुका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने प्लेटफर्मको रुपमा रहेको बताउँदै विद्यालय, शिक्षक र विद्यार्थीलाई खेलकुदको माध्यमबाट पालिकासँग जोडने वातावरण समेत निर्माण हुने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण ८ नम्बर वडाका वडा अध्यक्ष खमबहादुर गर्बुजा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र टिकोट मावि टिकोटका प्रधानाध्यापक प्रदीप पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

प्रतियोगिताको उद्घाटनसत्र अन्नपूर्ण गाउँपालिकाको सामाजिक विकास समिति संयोजक ओमप्रसाद फगामीको अध्यक्षता र हिमाञ्चल मावि नांगीका प्रअ रमन पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राम्चे, नांगी र पर्वतको वनबढे गाउँका स्थानीयले लोपोन्मुख पुख्र्यौली नृत्य देखाउनुका साथै हिमाञ्चल माविका महिला शिक्षकहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

















