तल्लो म्याग्दीका किसानलाई धान र कोदो भित्र्याउने चटारो छ । केही दिन अघिसम्म भएको वर्षात्,कृषि जनशक्तिको अभाव र धान र कोदो सँगसँगै पाकेकोले कृषकलाई भित्र्याउन समस्या भएको हो ।
तिहारको लगत्तै भएको वर्षाका कारण खतबारीमा पाकेको धान र कोदो किसानहरुले समयमा नै भित्र्याउन सकेका थिएनन् । बेमौसमी झरिले प्रभावित बनाएको र अहिले सबैको एकैचोटी भित्र्याउनु पर्ने भएकोले जनशक्तिको अभाव हुँदा ठूलो समस्या भएको बेनी नगरपालिका २ का रामचन्द्र घिमिरेले बताउनुभयो ।
वेमौसमी वर्षा र हावाहुरीका कारण खेतबारीमा रहेको धान कोदो ढलेर दाना झर्नुका साथै नल पराल समेत कालो बनेको किसान मनवीर खत्र्रीले बताउनुभयो । किसानले धानका दाना निकालेर पराल गह्रा वा बाटोमा सुकाएका छन् ।
खेतमा नै धान पराल कुहिए पछि उत्पादन घट्ने डरले किसान चिन्तित छन् । रोप्ने समयमा पर्याप्त वर्षा भएको, रोग, किरा नदेखिएको र तिहार अघिसम्मको मौसम अनुकुल रहेकोले धान उत्पादन बढ्ने आशामा रहेका किसान पाक्ने र भित्र्याउने समयमा वर्षा र हावाहुरी भएपछि चिन्तित भएका हुन् ।
जिल्लामा तीन हजार आठसय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र, म्याग्दीका अनुसार गत वर्ष कोदो १२ हजार ९७८ दशमलब पाँच मेट्रिक्टन र धान ४६ हजार ५९१ मेट्रिक्टन उत्पादन भएको थियो ।
जिल्लामा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गर्दछ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती गर्छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ ।
जिल्लाका ज्यामरुककोट,रत्नेचौर, ज्यामरुककोट, पुलाचौर, बाबियाचौर, पात्लेखेत, पिप्ले, लगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । म्याग्दीमा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने चिकित्सकहरु बताउछन् ।
त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास)मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।












