---Advertisement---

ताकममा सेनाको स्वास्थ्य शिविर, करिब दुई सय जना लाभान्वि

On: November 15, 2025 10:00 PM
Follow Us:

नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित भएका छन् ।

धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको प्रर्वद्धक अपर म्याग्दी हाइड्रोपावरको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक सय १३ जना महिला र ७१ जना पुरुष गरि एक सय ८४ जना लाभान्वित भएका गुरु गोरख गुल्मका गुल्मपति रामभोला खड्काले बताउनुभयो ।

नेपाली सेनाको श्री नं.२३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङका प्राविधिक सहसेनानी डा. असिम भण्डारी, प्रादेशिक अस्पताल बेनीका डा. सागरबाबु ढकाल, गुरु गोरख गुल्म र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

दाँत, आँखा, कान, जनरल चेकजाँच तथा अन्य सेवाहरु प्रदान गरिएको थियो । ताकम, धारापानी, हिलापोखरी, काफलडाडा, शिवाङ, मच्छिम, काफलडाडाका बासिन्दाहरुले सेवा लिएका थिए । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार देखि ४५ किलोमिटर पश्चिममा रहेको ताकम घना बस्ति भएको वडा हो ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर स्वाथ्य शिविर सञ्चालनका लागि नेपाली सेनालाई सहयोग गरेको अपर म्याग्दी हाइड्रोपावरका बरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले बताउनुभयो ।

Leave a Comment