---Advertisement---

बेनीमा एमालेको जनसभा, राष्ट्रियता र संविधान जोगाउनुपर्नेमा नेताहरुको जोड

On: November 15, 2025 10:08 PM
Follow Us:

‘जनताको बहुदलीय जनवाद जिन्दावाद !’ भन्ने नारासहित नेकपा एमाले म्याग्दीले शनिवार सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा सम्पन्न गरेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा ¥यालीसहित जनसभा गरिएको हो ।

जिल्ला सदरमुकाम बेनीको वीरेन्द्रचोकबाट सुरु भएको सद्भाव ¥याली तथा जनसभा हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले वर्तमान सन्दर्भमा देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउनका लागि दलहरुबीच सहकार्यको आवश्यकता औंल्याएका छन् ।

सद्भाव ¥याली तथा जनसभाका प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले वर्तमान प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानन्यायाधीश हुँदा अदालतबाट नै दलीयकरणको राजनीति सुरुवात गरेकाले अहिले शिक्षकले राजनीति गर्नुहुँदैन, संघ सङ्गठन बनाउनुहुँदैन भन्नु गलत रहेको बताउनुभयो ।

वर्तमान सरकारले अहिलेको अवस्थामा चुनाव गराउन सक्ने कुनै पनि छाँटकाँट नदेखिएको भन्दै उहाँले गएको भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनका क्रममा लुटिएका १२ सय हातहतियारहरु अझै फिर्ता नभएको बताउनुभयो । सोही जनसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य नरदेवी पुनले नेकपा एमालेले सधैँ राष्ट्रियताको पक्षमा आफ्नो आवाज बुलन्द पार्दै आइरहेको बताउनुभयो ।

उहाँले देशले हरेको भूमि हाम्रो भनेर तत्कालीन एमाले नेतृत्वको सरकारले सबै राजनीतिक दलहरुलाई सहमत गराएर चुच्चे नक्सा जारी गरेको बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको नारा घन्काइरहँदा हरेक प्रदेशमा हिमाल, पहाड र तराई हुनुपर्छ भन्ने दृष्टिकोणका साथ देशलाई प्रादेशिक संरचना बनाउने विषयलगायत देश विकासका लागि धेरै कामहरु गरेर एमाले अगाडि बढेको बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले वर्तमान परिस्थितिमा एमाले संविधानको रक्षाका लागि साङ्केतिक रुपमा जनतासमक्ष ओर्लिएको बताउनुभयो । उहाँले नेपालको इतिहासमा पहिलोपटक जनताले बनाएको संविधानको बर्खिलापमा जाने जो कोहीका विरुद्धमा संघर्ष गर्न र संविधानको रक्षा गर्न एमाले देशव्यापी रुपमा सडकमा आएको जानकारी दिनुभयो ।

जनताले लडेर ल्याएको व्यवस्था र संविधान जोगाउन एमाले सधैँ डटेर लागिपर्ने उहाँको भनाइ छ । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान अवस्थामा देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै राजनीतिक दल तथा जेनजी समूहलगायत सबै एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्व केन्द्रीय सचिव प्रकाश पौडेलले जेनजी समूहको नाममा हिंसा भड्काएर विध्वंश मच्चाउने अपराधीहरुलाई छानबिन गरेर कारवाही गर्न माग गर्नुभयो । कोणसभा कार्यक्रमको सञ्चालन एमाले म्याग्दीका सचिव थमसरा पुनले गर्नुभएको थियो ।

Leave a Comment