---Advertisement---

बेनी नगरपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि वेष्ट प्वाइन्टलाई

On: November 15, 2025 10:37 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बिहिबारदेखि सुरु भएर शनिवार बेनीको खुलामञ्चमा सम्पन्न बेनी नगरपालिका भित्रका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो ।

प्रतियोगितामा वेष्ट प्वाइन्टले कुल २१ स्वर्ण १५ रजत र १६ कास्यपदक ल्याएर उपाधि हात पारेको आयोजक बेनी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा द्वितीय भएको प्रकाश माविले २१ स्वर्ण, ११ रजत र ५ कास्यपदक जितेको छ भने तृतीय भएको बेनी सामुदायिक माविले ११ स्वर्ण, १५ रजत र १२ कास्यपदक जितेको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल २७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।


प्रतियोगितामा प्रथम विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५१ हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि २० सामुदायिक र ७ संस्थागत विद्यालयका ८ सयजना भन्दाबढी विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजेता विद्यालयहरुलाई बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र सामाजिक विकास समिति संयोजक चक्र केसीले पुरस्कार वितरण गरेका थिए ।


‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको थियो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने गरी छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाइ छ ।


प्रतियोगितामा एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको थियो । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता आयोजना गरिएको थियो भने मार्सलआर्ट विद्याअन्तर्गत तेक्वान्दो, कराँते र उसु खेलमा प्रतिस्पर्धा भएको थियो ।


प्रतियोगिताको औपचारिक उद्घाटन हुनुपूर्व सहभागी विद्यालयहरुबीच मार्चपास समेत गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत यसअघि १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता आयोजना गरिएको थियो । बेनी नगरपालिकासँगै यसअघि धवलागिरि र मंगला गाउँपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भैसकेको छ । अन्नपूर्णमा सुरु भएको छ भने अब मालिका र रघुगंगा गाउँपालिकामा पनि छिटै प्रतियोगिता हुने र लगत्तै जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लास्तरीय प्रतियोगिता हुनेछ ।

Leave a Comment