म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा अवस्थित पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ बनेको छ। अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजोआज जमेको हो।

आँखै अगाडी देखिने चाँदी जस्तै टल्कने अन्नपूर्ण प्रथम, निलगिरी नर्थ र साउथ, तिलिचो पिक। बिहान उदाउने सूर्य हिमालमा पर्दा सुन जस्तै टल्किने र मध्यरातमा जून चम्किँदा चाँदी जस्तै टल्कने हिमपातले सेताम्मे पहाडको काखैमा अवस्थित पञ्चकुण्ड ताल जमेपछि घुम्न गएका पर्यटकहरु तालमै पुगेर रमाउने गरेका छन्।

हालै पञ्चकुण्ड तालमा जानुभएका बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सहितको टोलीले जमेको आनन्द लिएका छन्। ‘ताल पूरै जमेको छ, हामीले तालको बिचमा पुगेर समेत तस्वीर लिने अवसर पायौं’ स्वास्थ्यकर्मी सन्दिप गौतमले बेनीअनलाइनलाई भने । उनीसँगै पुगेका विभिन्न जिल्लाबाट आएका पर्यटकले तालको बीचमा पुगेर दृष्यहरु लिएका थिए। घुम्न गएका पर्यटकहरु जमेको ताल देखेर दंग परेका थिए ।

सडक सञ्जाल र पदैलमार्ग हुदै दुई दिनको बास तथा अर्को दिन गन्तब्यमा फर्किन सकिने पछिल्लो समय पर्यटकको रोजाईमा परेको तालममा जाडोयाममा समेत पर्यटक पुग्ने गरेका छन् । नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) ८०९१ मिटर उचाइबाट हिउँ पग्लेर ताल बनेको छ । ताल पूरै जमेको अवस्थामा तालभित्र नै प्रवेश गरी आनन्द लिएको स्वास्थ्यकर्मी सिताराम श्रेष्ठले बताउनुभयो । जाडोयाममा जमेको ताल नै प्रमुख आर्कषक मानिन्छ । पाँच भागमा बनेको तालनजिकै भगवान् शिवको मन्दिर छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको हिमालको आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ। नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिने पदमार्गका परिकल्पनाकार एवम् अभियान्ता तेज गुरुङले बताए ।

यस क्षेत्रमा मंसिरदेखि माघ महिनासम्म यात्रा गर्दा सतर्कता अपनाउनुपर्छ । यसबर्ष दशैंतिहारको समयमा २० हजारभनदा बढी आन्तरिक पर्यटक पुगेका छन् । सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रचेका थिए।, मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्।










