---Advertisement---

गोवद्र्धन महायज्ञमा एक करोड २६ लाख ८५ हजार संकलन

On: November 17, 2025 5:33 PM
Follow Us:

ध्रुवसागर शर्मा

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक आयोजना गरिएको गोवर्धन महायज्ञमा रु एक करोड,२६ लाख ८५ हजार ८१२ संकलन भएको छ । महायज्ञ आयोजक समितिका आर्थिक संयोजक हिराबहादुर थापाले संकलन भएको रकमबाट खर्च कटाएर रु ३९ लाख वचत भएको र उक्त रकमबाट गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका भौतिक संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

गोवद्र्धन पूर्वाधार निर्माणपर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा गत वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन भएको महायज्ञमा बाक्दान सहितको रकम संकलन भएपछि एक कार्यक्रमको आयोजना गरी आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको हो । प्राकृतिक सुन्दरता,सांस्कृतिक विविधता,जैविक र ऐतिहासिक महत्व रहेको गौश्वारा ज्यामरुककोटको शिरानमा रहेको सुन्दर गाउँ हो ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको थियो ।

स्वामी कमलनयनाचार्यको समुपस्थितिमा आयोजित विचारविमर्श कार्यक्रममा गौश्वारा गोवद्र्धन धामलाई पञ्चकोट पछिको दोस्रो धार्मिक पर्यटकीय स्थल बनाउन विभिन्न धार्मिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने र त्यसका लागि स्थानीय नै लागिपर्नुपर्ने बताइएको थियो । अहिले गोवद्र्धन धाम परिसरमा विभिन्न पूर्वाधारहरु निर्माण भएका छन् ।

रु १५ लाख ५१ हजारको लागतमा गोलघर निर्माण भएको छ । त्यसैगरी रु १० लाखको लागतमा बहुउद्धेश्यीय भवनको लागि छाना लगाउने काम भएको छ भने पर्खाल र कोठा निकाल्ने काम भने बाँकी रहेको छ । गौश्वारालाई धार्मिक,पर्यटकीय र आयुर्वेदिक औषधी अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सकिने स्वामी कमलनयनाचार्यले बताउनुभयो । यहाँ पाइने जडिबुटी संकलन गरेर प्रशोधन गर्न सक्ने हो भने प्रशस्त आर्थिक लाभ लिन सकिने उहाँको भनाइ थियो ।

महायज्ञका लागि विभिन्न सातवटा सेवाका प्रकल्पहरु निर्धारण गरिएको थियो । महायज्ञ आयोजनाका लागि सातवटा सदस्यता वर्ग विभाजन गरी सेवाशुल्क निर्धारण गरिएको महायज्ञ आयोजक समितिका सदस्य चन्द्रकान्त रिजालले बताउनुभयो । उहाँकाअनुसार क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको थियो ।

Leave a Comment