नेपाल विविध कला संस्कृति सँगै प्रकृतिले बरदान पाएको देश हो । संसारका अग्ला हिमश्रृंखलाहरु देखि ताल, झरना, खोला, रमणीय बन जंगल, तातोपानी कुण्डहरु, विविध प्रजातिका वनस्पती तथा पशुपंक्षीहरु रहेको संसारलाई नै आकर्षित गर्न सक्ने प्राकृतिक बरदानले भरीपूर्ण देशमा हामी छौं । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल आफ्नो मनमोहक सौन्दर्यले आन्तरिक र वाह्य पर्यटकहरुलाई सधैं बोलाईरहेकी छिन । अप्सरा, परी, रानी नामले उपमा पाएको रारा तालसम्म पुग्न गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु हुँदै यही कार्तिक १४ देखि २१ गतेसम्म ८ दिने अध्ययन अवलोकन भ्रमणमा जाने निर्णय प्राकृतिक सुन्दरताले भरीपूर्ण र देवऋषीहरुको तपोभूमिमा अवस्थित म्याग्दी जिल्लाको उद्योगी व्यवसायीहरुको संस्था म्याग्दी उद्योग वाणिज्य संघले गर्यो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्री सु्विन श्रेष्ठको संयोजकत्वमा निवर्तमान र पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी र सदस्यहरु, महिला उद्यम विकास समितिका सभापति लगायतका समितिका सदस्यहरु, आमन्त्रित सदस्यहरु, बजार इकाईका प्रतिनिधीहरु, वस्तुगत संघका प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सहित ३५ जना र ५ ओटा स्कोरपियो गाडिमा चालक सहित ४० जनाको टोलिलाई कार्तिक १४ गते बिहान म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष श्री अमृत बानियाँ, कोषाध्यक्ष श्री सुमन श्रेष्ठ, सदस्य श्री हिमाल श्रेष्ठ, महिला उद्यम विकास समितिका उपसभापति श्री दिलमाया घताने, कोषाध्यक्ष श्री गिता रिजाल, म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय प्रमुख श्री दिलिप पुन लगायतका साथीहरुले भ्रमण टोलीलाई शुभ यात्राको शुभकामना सहित बेनीबजारको मुटु मानिने विरेन्द्र चोकबाट विदाई गर्नुभएको थियो ।
अध्ययन अवलोकन भ्रमण भन्ने वित्तिकै मनोरन्जन र रमाईलो यात्रा मात्र नभई यात्राको क्रममा गरिने विभिन्न पर्यटकिय, धार्मिक क्षेत्रहरुको अवलोकनका साथै त्यहाँका वस्तुस्थिती, उत्पादन, जिवनशैली आदी सबैको जानकारी लिनु पनि हो भने यो भ्रमण व्यवसायीक टोलीको भ्रमण रहेकोले जिल्ला–जिल्लामा रहेका जिल्ला नगर उद्योग वाणिज्य संघले गरेको क्रियाकलाप, त्यस ठाउँको उत्पादन, आयात निर्यात आदीको विषयमा जानकारी लिनु साथै म्याग्दी जिल्लाको विविध विषयमा जानकारी गराई पर्यटकिय र धार्मिक क्षेत्रको भ्रमणमा आउन आब्हान गर्नुपनि हो । हाम्रो म्याग्दी जिल्लाको व्यापार व्यवसाय, रोजगारी र आयआर्जन पर्यटन व्यवसायसँग पनि जोडिएको छ । त्यसैले हाम्रो स्थानीय उत्पादनको खपत बढाउन, धेरै भन्दा धेरैलाई स्वरोजगार बनाई आयआर्जनमा लाग्न अभिप्रेरित गर्न र हाम्रो बजारलाई बाह्रै महिना चहलपहल बनाई राख्ने माध्ययम भनेकै पर्यटन व्यवसाय हो ।
हामी संघसंस्थाले गर्ने यस्ता खालका भ्रमणलाई माध्ययम बनाएर अन्य जिल्लाका पर्यटकहरुलाई पनि हाम्रो जिल्लाको अवलोकन गर्न आब्हान गर्न सकिन्छ । यस्ता कार्यहरु विगत बर्षहरुदेखि म्याग्दी उद्योग वाणिज्य संघले गर्दै आईरहेको पनि छ । वि. सं. २०७५ सालमा म्याग्दी भ्रमण बर्ष भनेर विभिन्न माध्ययमबाट म्याग्दी उद्योग वाणिज्य संघले जिल्लाको पर्यटन प्रवद्र्धन गर्न भूमिका निर्वाह गरेको थियो । सोही अवसरमा बेनी नगरपालिका ०८ स्थित म्याग्दी जिल्लाको बसपार्कमा “पर्यटक सूचना केन्द्र” सञ्चालनमा ल्याई हालसम्म निरन्तरता दिई राखिएको छ । सोही ठाउँको अघिल्लो सटरमा २०८१ साल बैशाख ०१ गतेबाट म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको संयुक्त पहलमा “कोसेली घर” सञ्चालनमा ल्याईएको छ ।
भ्रमणको पहिलो दिन मध्य पहाडि लोक मार्गमा पर्ने गल्कोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री ढालेन्द्र गौतम र संस्थापक अध्यक्ष श्री विरेन्द्र श्रेष्ठसँग बिहानको समयमा भेटघाट गरी घोडा बाध्ने ठाउँमा चियानास्ता पश्चात् ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष श्री ढालेन्द्र छन्त्याल लगायतका साथीहरुले बुर्तिबाङ्गमा भ्रमण टोलीलाई स्वागत गर्नु भएको थियो । न्यानो आतिथ्यताका साथै विविध विषयको छलफलको क्रममा ढोरपाटन सिकार आरक्ष बागलुङ र म्याग्दी जिल्लाको दुबै भुभागमा पर्ने हुनाले यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा दुवै जिल्लालाई लाभ हुनेगरी दुवै उद्योग वाणिज्य संघले आगामी दिनमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
ढोरपाटन उद्योग वाणिज्य संघको आतिथ्यताको भोजन पश्चात् भ्रमण टोली गण्डकी प्रदेशको बागलुङ र लुम्बिनी प्रदेशको पूर्वी रुकूमको सिमानामा पर्ने पाती हाल्ने ठाउँमा फोटो खिची हाम्रो यात्रा अगाडि बढ्यो । यात्रा अगाडि बढ्ने क्रममा भूमे गाउँपालिका वडा नं. ०१ स्थित लुकुम हुँदै पूर्वी रुकूमको सदरमुकाममा प्रस्थान गरियो । पूर्वी रुकूम उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री राजु रेग्मी सहितका साथीहरुले हामीलाई स्वागत गर्नुभएको थियो । तत्पश्चात् हाम्रो टोली कर्णाली प्रदेशको पश्चिम रुकूममा रहेको मुसीकोट नगरपालिका, ०५ स्थित सेरीगाउँ भन्ने ठाउँमा रहेको सुभम् होटलमा साँझको खाना खाएर लामो यात्राको थकानले गर्दा भोली बिहान ७ बजे नै उठ्ने गरी सबै साथीहरु आआफ्नो विश्राम कक्षतिर लाग्नुभयो ।
भ्रमणको दोस्रो दिन कार्तिक १५ गते सबेरै उठी पश्चिम रुकूमको प्रसिद्ध मन्दिर डिग्रे शाही मन्दिरको दर्शन गर्न हामीहरु लाग्यौ भने सँगसँगै पश्चिम रुकूमको बजारको पनि अवलोकन गर्यौ तत्पश्चात पश्चिम रुकूम उद्योग वाणिज्य संघका अध्यक्ष श्री पहलबहादुर खड्का लगायतका साथीहरुले भ्रमण टोलीलाई स्वागत गर्नुभयो भने त्यहाँको संचालनमा रहेको लोकल मार्टको पनि अवलोकन गराउनु भयो । विहानको चिया नास्तासँगै दुवै जिल्लाको विषयमा छलफल पश्चात् हाम्रो भ्रमण टोली जाजरकोट जिल्ला तर्फ अगाडि बढ्यो । जाजरकोट जिल्लाको विभिन्न ठाउँहरुको नजर लगाउँदै दिउँसो १ः ३० बजे जाजरकोटको र्याडिसन होटलमा खाना खान हामी पुग्यौ भने जाजरकोट उद्योग वाणिज्य संघका सचिव श्री सुर्य रोकायसँग भेटघाट हुने अवसर पनि जुर्यो । त्यसपश्चात् विभिन्न प्राकृति दृश्यावलोकन गर्दै दैलेखतिर हामीहरु अगाडि बढ्यौ र साँझ दैलेखको पार्किङ्ग होटलमा हाम्रो खाना र बास भयो ।
भ्रमणको तेस्रो दिन कार्तिक १६ गते दैलेखको ऐतिहासिक ठाउँ कोटगढी र पञ्चदेबलको भ्रमणका साथसाथै दैलेख बजारको पनि अवलोकन गरियो । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष श्री नरेन्द्र थापा, पूर्व अध्यक्ष श्री गणेश श्रेष्ठ लगायतका साथीहरुले हाम्रो भ्रमण टोलीलाई स्वागत गर्नुभयो । दुवै जिल्लाको बिषयमा अन्तरक्रिया गर्यौ त्यस पश्चात् भ्रमण टोलीले दैलेखको जलजलेमा रहेको प्रशिद्ध ज्वाला माईको दर्शन गर्दै नेपालको सम्बृद्धि र आत्मनिर्भर सँग जोडिएको दैलेख जिल्लाको भैरवी गाउँपालिका १, जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रको अवलोकन गर्यौ । दैलेख उद्योग वाणिज्य संघका अध्यक्षज्यूले त्यस ठाउँबाट अब छिट्टै उत्पादन शुरु हुने जानकारी गराउनु भएको थियो । हामी निजी क्षेत्र यो परियोजना चाडो सञ्चालनमा ल्याउन र देशैभरीका नेपालीले पनि लगानी गर्न मिल्ने गरी निती बनाउन आब्हान गर्दछौं । देशलाई फाईदा पुग्ने यो परियोजना चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याईयोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछौं । त्यस पश्चात् हाम्रो टोली कालीकोट तर्फ अगाडि बढ्यो ।
पक्की कच्ची सजिलो अप्ठ्यारो सडक हुँदै हामी कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री रत्नबहादुर शाही लगायतका साथीहरुसँग भेटघाट गर्न पुग्यौ । अध्यक्षज्यू लगायतका साथीहरुको स्वागत र भलाकुसारी पश्चात् हाम्रो यात्रा मान्मा बजारतिर अगाडि बढ्यो । अगाडि बढ्ने क्रममा यात्रा सधैं भने जस्तो नहुने, एउटा गाडिमा समस्या देखिन पुग्यो र कालीकोटमा रहेको गाडि ग्यारेजमा गाडी मर्मतको लागि हामी पुग्यौ । गाडि मर्मतको क्रममा ग्यारेज छेउमा रहेको चिया पसलमा चिया चुस्की लिन थाल्यौ । सिरिरि हावा चलिरहेकोले जाडो पनि बढिरहेको थियो त्यसैले कतिपय साथीहरुले बेनीको बजार, घर कता हो बैनीको, चोली मैलो भो लगायतका गितहरु गाउन थाल्नुभयो । त्यसै क्रममा चिया पसल सञ्चालन गरेकी बहिनीले म्याग्देली कलाकार प्रकाश दूतराजको गित निकै मन पर्ने र धेरै सुन्ने बतानुभयो साथै एमआरबि ब्लग म्याग्देली युवा विविध जंग थापाको भिडियोहरु पनि अति मन पर्ने वताउनु भयो ।
मनमनै म्याग्दीलाई चिनाउने दुवैजना युवालाई धन्यवाद व्यक्त गर्दै गाडि मर्मत पश्चात् हाम्रो गाडि कालिकोटको मान्म बजारतिर अगाडि बढ्यो । रातको ९ बजे मान्म बजारमा रहेको स्नो फल होटलमा हामी पुग्यौ । ठुलो टिम भएकोले एउटै होटलमा सबै जना अटाउन नसक्ने भएपछि सो होटलको अगाडिपट्टि रहेको डाँफे होटलमा बस्ने प्रबन्ध मिलाईएको थियो । थकाईले कतिपय साथीहरुले खाना खाएर रुम तिर लाग्नु भयो भने कतिपय साथीहरु विजुली पानी सँगै गफ लडाउँदै कतिपय साथीहरुले मादलको तालमा नाच्दै र गाउँदै रमाईलो गर्नुभयो र ११ः३० बजेतिर आआफ्नो विश्राम कक्षतिर लाग्नुभयो ।
भ्रमणको चौथो दिन कार्तिक १७ गते मान्म बजारको अवलोकन सँगै हाम्रो यात्रा मुगु तर्फ अगाडि बढ्यो । अगाडि बढ्दै गर्दा त्यहाँका खोलामा देखिने स्थानीय श्रोतको प्रयोग गरी स्थानीय शिपमा आधारित आकर्षक काठका पुलहरुले मनै लोभ्यायो । पुलमा काष्ठकलाका कलाकारहरुले कुँदेका बुट्टाहरु मानव आकृति काठमा कुँदिएका आकृतिहरुले गर्दा फोटो र भिडियो नखिचि त्यस ठाउँबाट अगाडि बढ्न सकेनौ । भरीपूर्ण काष्ठकलाको पुल र खोलाको कञ्चन पानीलाई विदाई गर्दै हाम्रो यात्रा धुलाम्मे सडक हुँदै विभिन्न ठाउँहरुको अवलोकन गर्दै मुगुको सल्लेरी भन्ने ठाउँमा रहेको डाँफे होटलमा दिउँसोका ३ बजे पुग्यौ । डाँफे होटलमा सबै साथीहरुलाई रुमको व्यवस्थापन पश्चात् साँझपखको दृश्यावलोकन गर्न कोही साथीहरु पैदल र कोही साथीहरु घोडा सवार गरी सुन्दर रारा तालको किनारमा पुग्यौ । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने र सरसफाईको कारण पनि हुनसक्दछ ताल नजिकै नै गाडि जान नदिदो रहेछ । झण्डै ४५ मिनेटको हिडाई र ३० मिनेटको घोडा सवारपछि हामी सबै साथीहरु ४ः३० बजेतिर रारा तालको किनारमा पुग्यौ । रारा तालले आफूलाई साँझको समयमा आफूलाई ढाल्दैथियो, घाम अस्ताउँदै थिए भने राराको कञ्चन पानीले हामी सबैलाई एकोहोरो टोलाईरहने बनाएको थियो । साँझको समयमा हल्का चिसो हावा लागिरहेको थियो । सबै साथीहरुले सामुहिक र एकल फोटो खिच्ने, टिकटक बनाउने, घोडामा चढेर फोटो खिच्ने, तालको पानीलाई छोएर फोटो खिच्ने गर्दा गर्दै साँझको ६ः३० बजेको पत्तै भएन । भोली फेरी सबेरै रारा तालको पारी किनारमा पुग्ने र अवलोकन गर्नेगरी सबै साथीहरु रारा तालबाट होटल तर्फ फर्कियौ । होटलमा दुईवटा ठुला ड्रमहरुमा आगो बालिएको थियो । हाम्रो सोचाईपनि क्याम्प फायर र नाचगान गर्दै आजको साँझ रमाईलो गर्ने मुडमा थियौ । होटलमा ठ्याक्कै रमाईलो गर्नेगरी नै आगोको वरीपरी कुर्चि टेबुल मिलाई व्यवस्थापन गरिएको रहेछ । होटलमा पुग्नासाथै साथीहरुले होटलको स्पिकर मागेर गित घन्क्याउन थाल्नु भयो । त्यसैको तालमा धेरै साथीहरुले आआफ्नो ईच्छा अनुसार हार्ड र सफ्ट ड्रिन्क साथै स्थानीय च्याङ्ग्राको मासुको स्वाद सँगै उठ्दै बस्दै नाँचगान गर्न थाल्नुभयो । हामी बसिरहेको होटलमा अन्तर्राष्ट्रिय पर्यटकहरुको पनि आगमन रहेको थियो । हाम्रो नाँचगानमा रमाउँदै अन्तर्राष्ट्रिय पर्यटकहरु सहभागि हुनुभयो र रमाईलो गर्दै हामीसँगै नाच्नुभयो । नाच्ने क्रम अगाडि बढिरहेको थियो म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले अब दोहोरी गित गाउनुपर्छ भन्ने प्रस्ताव गर्नुभयो । दोहोरी गाउन लिलाराम जीको नेतृत्वमा, हरी जी, चिरन्जीवी जी र म लगायतका साथीहरु कस्सियौ भने महिला तर्फ म्याग्दी उद्योग वाणिज्य संघ अन्नपुर्ण बजार इकाई समितिका सभापति सुनिता बरुवाल गिरी, रेणु जी, अम्बिका जी लगायतका महिला साथीहरु पनि कस्सिनुभयो । केही समय दोहोरीको रमझम र नाँचगानले दिनभरीको थकाई नै विर्साईरहेको महशुस भयो । रमाईलो गर्दागर्दै साँझको ११ बजिसकेकोले भोली बिहान सबेरै राराताल तर्फ लाग्नेगरी सबै साथीहरु आआफ्नो वासस्थानमा लाग्यौ ।
भ्रमणको पाँचौ दिन कार्तिक १८ गते बिहान रारा ताल अवलोकनको टिकट काट्न म, मोतिलाल जी र टेकप्रसाद जी अलि अगाडि होटलबाट हिड्दै टिकट काउन्टर पुग्यौ । रारा ताल घुम्ने स्वदेशी पर्यटकका लागि प्रति व्यक्ति रु. १००, सार्क मुलुकका नागरिकका लागि रु.१५०० र विदेशी पर्यटका लागि प्रति व्यक्ति रु.३००० लाग्दो रहेछ । टिकट काट्ने काउन्टरबाट राराको पारीपट्टिको किनार पुग्न हिडेर २ः३० घण्टा र घोडामा १ः३० घण्टामा पुगिने रहेछ । पारी पुग्न समय लाग्ने देखिएकोले धेरै साथीहरुले घोडाबाट जाने निधो गर्यौ । घोडाले वारी किनारमा पुर्याएको रु.६०० र पारी किनार पुर्याएको रु.१२०० लिने रहेछ । कतिपय साथीहरु बिहानै हाईकिङ गर्दै राराको वारी किनार पुगिसकेको अवस्था पनि थियो । त्यसैले जो साथी जहाँजहाँ छौ त्यही स्थानबाट घोडाको सयर गर्दैै पारी किनारमा पुग्नेगरी अगाडि बढ्यौ । रारा तालको किनारैकिनार हुँदै बिहानको ९ बजे हामी राराको पारी किनारमा पुग्यौ । बिहानको राराको दृश्यावलोकन गर्दा सबैको मन फुरुङ्ग र आनन्दित भएको थियो । कतिपय साथीहरुलाई घोडा सयरको नयाँ अनुभव पनि हुँदै थियो ।
पारीबाट रारा तालको सम्पुर्ण भाग देखिने रहेछ साथै हिमालको सुन्दर दृश्यपनि अवलोकन गर्न पाईयो । करिब १६७ मिटर गहिराई, ५.१ किमी सम्म लम्बाई र २.७ किमी सम्म चौडाई रहेको रारा ताल १०८ बर्ग किमी क्षेत्रफलमा फैलिएको रहेछ । यो ताल नेपालकै सफा, सुन्दर र ठुलो तालमा पर्दो रहेछ । रारा राष्ट्रिय निकुञ्ज भित्र पर्ने छायाँनाथ रारा नगरपालिका, वडा नं. ९ मा रहेको यो ताल समुन्द्री सतहबाट १९९० मिटरको उचाईमा रहेको रहेछ । सल्ला, धुपी, ओखर, गुँरास जस्ता रुखका जंगलले घेरिएको रारा तालले बिहानको सुर्योदयको समयमा त सारा संसार नै विर्र्साईदिदो रहेछ । बेला बेलामा आफ्नो कञ्चन पानीको रंग फेरिरहने रारा सुन्दर अप्सरा, परी झै लाग्दो रहिछन् । ताल वरिपरी देखिने रंगिचङ्गी बोट बिरुवाहरु र तालमा देखिने असला माछाहरुले हामी सबैलाई मोहित नै बनायो । ताल वरीपरिको जंगलमा विभिन्न प्रजातिका पशुपंक्षीहरुको बासस्थान रहेको पनि बुझ्न पाईयो भने विभिन्न जडिबुटिहरु पनि त्यस क्षेत्रमा रहेको बुझ्न पाईयो । रारा तालको पानीको श्रोत भनेको विभिन्न .८ ओटा खोलाहरुबाट आउने पानी रहेछ भने यसको निकास निस्कने पानी खर्याङ खोला हुँदै कर्णालीमा गएर मिसिदो रहेछ । फोटो भिडियोको खिचाई र बिहानको नास्ता पश्चात् हामीहरु राराको पारी किनारबाट बोटिंग गर्दै वारी किनार पुग्ने सल्लाह गरी म टिकट लिन बोटिंगको टिकट काउन्टरतिर लागे । प्रति व्यक्ति रु. ५०० का दरले बोटिंग शुल्क लाग्दो रहेछ । पारी किनार देखि वारी किनारसम्म पुग्न ४५ मिनेट लाग्दो रहेछ भने १२ बजेपछि तालमा पानीको छाल आउने भएकोले सो समय पश्चात् बोटिंग नहुँदो रहेछ ।
फर्किने बेलामा धेरै जना बोटिंग गरी फर्किने हुनाले टिकट काउन्टरमा भिडभाड हुने रहेछ । हाम्रो अलि ठुलो टोली रहेकोले हामीले अलि ढिला गरी मात्रै बोटिंग गर्ने अवसर पायौ । सबै साथीहरु लाईफ ज्याकेट पहिरियर ३ ओटा बोटिंगमा सँगै राराको पारी किनारलाई बिदा गर्दैै वारी किनारतर्फ अगाडि बढ्यौ । तिनै बोटिंगमा गितका स्वरहरु गुञ्जदै राराको कञ्चन पानीलाई सुम्सुम्याउदै रारा तालको मध्यभागमा पुगेका थियौ । समय बिहानको ११ः१५ भैरहेको थियो । रारा तालले आफ्नो तालको रंग फेर्दै हामीलाई जिस्क्याईरहेकी थिईन । सोही समयमा घाम बादलभित्र छिर्यो र हामीले केही अध्यारोको महशुस गर्दै थियौ । चिसो हावाले गाला, कान, नाक, घाँटी र टाउकोलाई पिटीरहेको थियो । तैपनि हामी सबैले त्यो चिसोका प्रवाह नगरी रारा ताललाई अवलोकन गर्दै अगाडि बढिरहेका थियौ । केही समय पश्चात् विस्तारै छालको महशुस पनि गर्दै थियौ ।
हल्का हल्का गर्दै छाल बढ्दै आउन थाल्यो भने हामीमा एक किसिमको त्रास पनि बढ्दै जान थाल्यो । वारी किनार पुग्न हामीलाई धेरै समय लाग्ने अवस्था त थिएन तैपनि छाल बढ्दै गएको, जुत्ता पुरै भिजिरहेको र बोट हल्लिदै गएको आभासले हाम्रो मन चाँडै पारी पुग्न आतुर थियो र केही समय पश्चात हामी सबै जना सकुशल वारी किनारमा पुगियो र मन सान्त र लामो सास फेरियो । त्यस पश्चात् घोडाको सयर गर्दै हामी अगाडि बढ्यौ र घोडाले घोडाको स्टेशनमा हामीलाई छाडिदियो । बिहानको स्टेशनबाट पारी पुगेको रु.१२०० र वारी किनारबाट स्टेशनसम्म ल्याईपुर्याएको रु. ६०० गरी रु.१८०० प्रति व्यक्तिका दरले हामीले रकम बुझायौ । कतिपय साथीले बक्सिस स्वरुप थप गरेर पनि रकम दिनुभयो । त्यस पश्चात् हाम्रो हिडाई साँझ बसेको डाँफे होटल तिर लाग्यो । होटलमा खाना पश्चात् ५ ओटै गाडिमा आफ्ना सामान मिलाई जुम्ला सदरमुकामको यात्रा तर्फ अगाडि बढ्यौ । विभिन्न ठाउँहरुको अवलोकन गर्दै छोटो दूरीमा पुगिने भित्री बाटो हुँदै साँझ ८ः३० बजे जुम्ला बजारमा रहेको होटल मानसरोबरमा हामी पुग्यौ । हाम्रो ठुलो समुहलाई व्यवस्थापन गर्न २ ओटा होटलमा बाढिएर हामीहरु बस्यौ ।
भ्रमणको छैटौ दिन बिहान कार्तिक १९ गते जुम्ला बजारमा रहेको प्रशिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरको दर्शनको साथै जुम्ला बजारको अवलोकन पश्चात् जुम्ला उद्योग वाणिज्य संघको सचिवालयमा पुग्यौ । जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिलबहादुर रोका, निवर्तमान अध्यक्ष श्री पुरीचन्द्र देवकोटा, पूर्व अध्यक्ष लगायतका साथीहरुले हामीलाई संघमा न्यानो स्वागत गर्नुभयो । संघको सचिवालयमा परिचय र अन्तरक्रिया पश्चात् शुरुमा उद्योग वाणिज्य संघले थालनी गरेको र हाल त्यहाँको एक सहकारीबाट सञ्चालित लोकट मार्टको पनि अवलोकनका साथै स्थानीय उत्पादनहरुको खरिद गर्ने कार्य भयो । त्यो मार्टले आफ्नो शाखा जुम्ला एअरपोर्ट र काठमाण्डौमा पनि संचालनमा ल्याएको जानकारी प्राप्त भयो । मार्ट व्यवस्थित रुपमा संचालनमा रहेका हामीले पायौ ।
हाम्रो लागि त्यो मार्टको व्यवस्थापन, प्याकेजिंग, सजावट सिकाई भएको छ । त्यहाँको स्थानीय ओखर, सिमी, फापरको पिठो, आलु र आलुका परिकार, स्याउ र स्याउका परिकारहरु, ब्रान्डी, वाईन, मार्सी चामल आदी हामीले खरिद पनि गर्यौ । चिसो हावापानीमा उत्पादन भएकोले यी चिजहरु स्वादिष्ट र उत्कृष्ट रहेकोले जिल्ला बाहिर पनि निर्यात भैरहेको जानकारी पायौ । सोही समयमा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष श्री सन्देश आचार्यलाई जुम्ला बजारमा भेटघाट गर्ने अवसर पनि जुर्यो । बिहानको नास्ता पश्चात् हामी कर्णाली प्रदेशको राजधानी सुर्खेतको लागि प्रस्थान गर्दै दिउँसो १ बजे राकम भन्ने ठाउँमा माछा खाना खान पुग्यौ । कर्णालीको असला माछा अत्यन्त स्वादिलो हुँदो रहेछ । त्यसपश्चात् साँझ ९ः०० बजे होटल एम एम ईन सुर्खेतमा बास बस्न पुग्यौ ।
सातौ दिनको बिहान कार्तिक २० गते सुर्खेतको प्रसिद्ध देउती बजै मन्दिर, बुलबुले ताल र ऐतिहासिक काक्रे बिहारको अवलोकन गरियो । बिहान सुर्खेत बजार अवलोकन गर्दै गर्दा २०६६ सालमा गरिएको म्याग्दी उद्योग वाणिज्य संघले गरेको भ्रमणको सम्झना पनि आयो । पूर्वाधार निर्माणमा सुर्खेतले फड्को मारेको महशुस पनि भयो । २०६६ सालको भ्रमणमा आउदा भुकम्पको कारण क्षतविक्षत रुपमा भएको काक्रे बिहारको पुनर्निमाण गरिएको पनि देख्न पायौ । हाम्रा अग्रजहरुको त्यो समयको मौलिक कला संस्कृति र प्रविधीलाई हामीले मान्नै पर्छ । त्यो समयमा नेपालको कला संस्कृति विकासमा उच्च तहमा रहेको यस्ता ऐतिहासिक धरोहरहरुले पनि देखाउछन । यो ठाउँको भ्रमणका क्रममा म्याग्देली चेली मालती बहिनीसँग पनि भेटघाट गर्ने अवसर जुर्यो । सुर्खेत उद्योग वाणिज्य संघको न्यानो आतिथ्यता र बिहानको नास्ता सँगै १० बजे सो संघका अध्यक्ष श्री हस्तबिक्रम खड्का, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष श्री पदम शाही, पूर्व अध्यक्ष श्री धनबहादुर रावत लगायतका साथीहरुले हाम्रो भ्रमण टोलीलाई संघको सचिवालयमा स्वागत गर्नुभयो । दुवै जिल्लाको साथै कर्णाली प्रदेशको सम्भावनाका बिषयमा पनि अन्तरक्रिया गर्यौ । दुवै उद्योग वाणिज्य संघ र दुवै प्रदेशले पछिल्लो समय उद्योगी व्यवसायीहरुमा परेका समस्याहरु एकापसमा सहकार्य गर्दै महासंघ मार्फत समस्या समाधानमा महासंघलाई झक्झक्याई रहने र सरोकारवाला निकायहरुमा पहल गरीरहने प्रतिवद्धता व्यक्त गरिएको थियो । सुर्खेत उद्योग वाणिज्य संघबाट हाम्रो यात्रा कोहलपुरतिर अगाडि बढ्यो । २ः३० घण्टाको यात्रा पश्चात् कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप भट्टराई लगायतका साथीहरुसँग हिल टप रेष्टुरेन्ट एण्ड बारको हलमा भेटघाट गर्ने अवसर प्राप्त भयो । साथीहरुले हामीहरु पुग्नासाथ स्वागत गर्दै छोटो भेटघाट शुरु गर्नुभयो । दुवै जिल्लाको वस्तुस्थिती र व्यापार व्यवसायका बारेमा छलफल भए त्यस पश्चात् कोहलपुर उद्योग वाणिज्य संघको न्यानो आतिथ्यता खाना पश्चात् हामी प्युठान जिल्लामा रहेको स्वर्गद्धारी तर्फ अगाढी बढ्यौ । साँझ ८ बजे स्वर्गद्धारीमा रहेको स्वर्गद्धारी होटलमा बास बस्न पुग्यौ ।
भ्रमणको अन्तिम दिन कार्तिक २१ गते बिहानै स्वर्गद्धारी आश्रम पुग्यौ । त्यहाँको शान्त बातावरण, हिमश्रृंखलाहरुको दृश्यावलोकन, पवित्र मन्दिर वरीपरिका दृश्यहरुले सबैलाई ध्यानमग्न बनायो । यसको शाखा आश्रम हाम्रो म्याग्दीको टोड्के र बिममा रहेकोले पनि हामीलाई यो आश्रमको बिषयमा बढी जिज्ञासु बनाईरहेको थियो । २५० जना गुरु सहित पण्डितहरुको बसाई रहेको, ४०० भन्दा बढी गाईको पालन, हजारौ संख्यामा आउने धर्मालम्बी, पुजा व्यवस्थापन, सरसफाई, वरिपरीको क्षेत्रमा हरियो सागपात, रंगिविरंगी फुलहरु यी सबैको व्यवस्थापन चुस्त र दुरुस्त देखिन्थ्यो । स्वर्गद्धारी मन्दिर नयाँ निर्माणको क्रममा पनि रहेको रहेछ हामी सबै जनाले पुजाआजा पश्चात गुरु ध्रुवश्री ज्यूको दर्शन गर्ने अवसर पायौ । गुरुज्यूको मुखारविन्दुबाट स्वर्गद्धारीको थप महिमाहरु बुझ्ने अवसर मिल्यो साथै प्युठान स्वर्गाश्रमको शाखा २१ ठाउँमा रहेको जानकारी पनि पायौ । यस्तै खालको सुविधा सहितको स्वर्गाश्रम हामीले टोड्के र बिममा पनि बनाउन पाए हुन्थ्यो भन्ने मनमनमा लागेको थियो । गुरुसँग भलाकुसारी गर्ने क्रममा टोड्के र मालिकामा पनि व्यवस्थित तरिकाले संचालन गर्न सकिने गरी स्वर्गाश्रम र प्रभु चेला धुरीको विकास गर्न गुरुले सहयोग पुर्याउनुहुन अनुरोध गर्यौ । सबै कुराहरु समयक्रमसँगै हुने हुनाले गुरुलाई म्याग्दीमा रहेको दुवै शाखाको योजनावद्ध विकासका लागि कार्ययोजना बनाईदिनुहुन अनुरोध गर्दै त्यसमा हामी म्याग्देलीले सहयोग गर्ने वचनवद्धता प्रकट गरी गुरुको शुभार्शिवाद ग्रहण पश्चात् हामी प्युठानको खलंगामा खाना खानको लागि पुग्यौ । प्युठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री पशुपती नारायण नकर्मी, कोषाध्यक्ष लगायतका साथीहरुसँग भेटघाट गरी हामी अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्क तिर लाग्यौ । सन्धीखर्कमा अर्घाखाँची उद्योग वाणिज्य संघको सचिलायमा संघका अध्यक्ष श्री प्रदिप मिश्र लगायतका साथीहरुसँग भेटघाट भलाकुसारी गरी त्यहाँबाट रिडिको लागि यात्रा तय गर्यौ । रुरु क्षेत्र धाममा निर्माण गरिएको त्रिकोणात्मक झोलुंगे पुलले हामी सबैलाई आकर्षित गर्यो । त्यो पुलले स्याङ्जाको हनुमान स्थान, पाल्पाको ऋषिकेश मन्दिर र गुल्मीको श्री मणिमुकुन्देश्वर महादेव जस्ता धार्मिक स्थलहरुलाई जोड्ने रहेछ । त्यो पुललाई देख्नासाथ म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, पर्वत बेनीबजार र भसभसे खबरालाई जोड्ने पुल निर्माण गर्न सकिएमा तिनै ठाउँका बासिन्दालाई सहजताका साथ यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हामीलाई लागेको छ । रिडीबाट कालीगण्डकी कोरिडोर हुँदै मालढुंगा, पर्वतको जलजला गाउँपालिका र पर्वत बेनीहुँदै साँझ ११ः३० बजे बेनीबजार आईपुग्यौ । हाम्रो यो ८ दिने भ्रमण हेराई, सिकाई, भोगाईका साथै अविस्मरणीय रहन गएको हामीले महशुस गरेका छौं ।
१. भ्रमण फलदायी रह्यो भन्ने हामीले महशुस गर्यौ ।
२. भ्रमण टोलीमा रहेको ४० जना मध्ये हामी ३८ जना कर्णाली प्रदेश र रारा ताल भ्रमणको लागि नयाँ थियौ ।
३. भ्रमणको क्रममा कर्णाली प्रदेशको वस्तुस्थिती, त्यहाँको उत्पादन, पर्यटन, व्यापार व्यवसाय आदी बुझ्ने अवसर पायौ ।
४. त्यहाँको जनताको कला संस्कृति, भाषा, पोशाक प्रतिको लगाव र माया पनि बुझ्ने अवसर पायौ ।
५. गण्डकी प्रदेशको बागलुङमा गल्कोट र ढोरपाटन उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेशको पूर्वी रुकूम र कर्णाली प्रदेशको पश्चिम रुकूम, जाजरकोट, दैलेख, कालिकोट, मुगु, जुम्ला र सुर्खेत उद्योग वाणिज्य संघहरु र फर्किने बेलामा लुम्बिनी प्रदेशको कोहलपुर, प्युठान, अर्घाखाँची उद्योग वाणिज्य संघहरु गरी ३ प्रदेशको १२ जिल्लाका १३ ओटा उद्योग वाणिज्य संघसँग आत्मियता बढाउने अवसर प्राप्त गर्यौ ।
६. यी सबै ठाउँहरुमा म्याग्दी जिल्लाका धार्मिक र पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्नुका साथै म्याग्दी घुम्न आउन अनुरोध गर्ने अवसर पनि मिल्यो ।
७. भ्रमणको क्रममा धेरै व्यवसायी साथीहरुसँग चिनजान भएकोले भविष्यमा आआफ्नो व्यापार व्यवसायलाई प्रवद्र्धन गर्नमा टेवा पुग्ने पनि देखियो ।
८. यो भ्रमणका क्रममा कर्णाली प्रदेशका जनताहरु पौरखी रहेछन भन्ने लाग्यो । किनभने जमिनहरु बाँझो देख्न पाएनौ साथै भिरालो जमिनमा पनि खेतिपाती गरिरहेको पायौ साथै पशुपालनमा पनि निकै अगाडि बढीरहेको हामीले महशुस गर्यौ ।
कर्णाली प्रदेशमा पनि कृषि, पर्यटन, पुशपालन, खानी, जलविद्युत लगायतका धेरै सम्भावना नै सम्भावनाहरु रहेछन् । २०४६ सालको राजनितिक परिवर्तन पश्चात् नेपालमा विकास हुँदै नभएको होईन तर हामीले सोचे अनुसार द्रूत गतिमा नभएको मात्र हो । कर्णाली प्रदेश भ्रमण गर्दै गर्दा ढिलै गरेर भएपनि यातायातको पूर्वाधार मोटरबाटो पुगेको र विजुली बत्ती पुगेको हामीले महशुस गर्यौ । नेपाल सानो अर्थतन्त्र भएको मुलुक हो, जनताका असिमित चाहनाहरु राज्यले एकैचोटि पुरा गर्न सक्ने अवस्थामा छैन, हाम्रो सिमित श्रोतलाई राज्य संचालकले मितव्ययी ढंगले व्यवस्थापन गर्नुपर्नेमा राज्य संचालनको क्रममा गल्ती कमजोरीहरु भएका छन् । सबै प्रदेश र जिल्लाहरुमा समानुपातिक बजेट विनियोजन हुनपर्नेमा पहँुचको आधारमा बजेट बिनियोजन भैरहेको छ । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र कमजोर देखिन्छ, यसमा सुधार गर्न सक्यौ भने सबै जिल्ला र प्रदेशहरु विस्तारै आत्मनिर्भर हुँदै जाने देखिन्छ ।
भ्रमण समाप्ती पश्चात्को नवौ दिन बिहान म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा भ्रमणमा सहभागि चालकहरुलाई भ्रमण सकुशल र अनुशासितका साथ यात्रा सम्पन्न गरेकोमा सबै भ्रमण टोलीका सदस्यहरुका तर्फबाट बक्शिसका साथ टोली नेता प्रेम मगरलाई सम्मान गरी भ्रमण कार्यक्रमको समापन गरिएको थियो ।










