अग्लो ठाउँ अर्थात् पत्ताले छाँगोबाट हुत्तिँदै खसेको पानीको फोहोरालाई हामी झरना भनेर चिन्दछौं । प्राकृतिक वा मानवनिर्मित छहरो नै झरना हो । पहाडको टुप्पोबाट कलकल गर्दै तल जमिनतिर बग्ने गर्छ झरना । भीर तथा पहराको साहारा लिएर बग्ने झरनाको पानी खुब चिसो हुन्छ र छङछङ गरेको आवाज सुनिन्छ ।

जुनसुकै झरनाको फेदीबाट माथितर्फ फर्किएर हेर्दा पनि सिरमा लगाएको टोपी र ओढेको पछ्यौरी भुइँमा खसेको पत्तो हुँदैन । पहरोमा लडबुडी खेल्दै बगेको झरना हेर्दा र त्यसको आवाजले त्यहाँ पुग्ने जो कोही वा पर्यटकलाई समेत झरनाले निकै मोहित बनाउँछ । एकनासले माथिबाट तलतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको लामो छहरा झरना पनि जति हे¥यो उति हेरिरहुँ जस्तो लागिरहन्छ ।

म्याग्दी जिल्लामा रहेका पर्यटकीय आकर्षणका झरनाहरुमध्ये लामो छहरा झरना पनि एक हो । कतिपय झरनाहरु वर्षायामको समयमा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । लामो छहरा झरना भने सदावहार बगिरहन्छ, सुस्साइरहन्छ । तर पर्यटकीय आकर्षणको सम्भावना भएर पनि भौतिक पूर्वाधारको अभावले म्याग्दीको लामो छहरा झरना ओझेलमा परेको छ । जिल्लाको मंगला गाउँपालिका–२, मिठौलामा पर्ने यस झरनामा भौतिक पूर्वाधारका आवश्यक संरचनाहरु नबन्दा र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै जान थालेको छ ।

पर्यटकीय सम्भावनायुक्त लामो छहरा झरनाको आसपासका क्षेत्रमा पर्यटकलक्षित पूर्वाधारहरुको अभाव भएको छ । झरनासम्म पुग्ने सहज पदमार्ग, खाने र बस्ने ठाउँ, शौचालय, टि–हाउस र भ्यू–प्वाइन्ट जस्ता संरचनाहरुको अभाव देखिएको स्थानीयवासीले बताएका छन् । पर्यटकहरु रमाउन र भुल्नका लागि आवश्यक पर्ने संरचनाहरु बनाएर झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ । हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक देखिने लामो छहरा झरनाले गाउँको सौन्दर्यता समेत बढाएको छ । झरनामा पर्यटकहरुका लागि क्यानोनिङ गर्न सकिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

पछिल्लो समय शनिवार तथा सार्वजनिक विदाको दिन झरनामा पुगेर धेरै पर्यटकहरु रमाउने गर्दछन् । गर्मी छल्न तथा झरनाको अवलोकन गर्नका लागि म्याग्दीसहित विभिन्न ठाउँबाट पर्यटकहरु आउने गरेको स्थानीयवासी पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । बेनी–दरबाङ सडकखण्डको नजिकमा पर्ने झरनासम्म पुग्ने बाटो र झरनामा पुगेर पर्यटकहरु रमाउने आवश्यक संरचनाहरुको निर्माण तथा उचित प्रचारप्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढाउन सकिन्छ ।

समुन्द्री सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको लामो छहरा झरनाको मात्र उचाई १ सय ५० मिटर रहेको अनुमान गरिएको छ । झरनाको आधारशिविरमा पौडी खेल्न मिल्ने ताल समेत रहेको छ । धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले लामो छहरा झरनालाई पर्यटकीय आकर्षणको गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना रहेकाले यसका लागि सम्बन्धित गाउँपालिका, वडा र स्थानीयवासीले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

झरनाको पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि डिपिआर बनाएर पदमार्गसहित आवश्यक संरचना निर्माणमा पहल गरिएको मंगला गाउँपालिकाले जनाएको छ । झरना आफैमा पनि निक सुन्दर तथा मनमोहक रहेकाले पर्यटकहरु लोभिन्छन् । प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न आउने पर्यटकहरुलाई झरनासम्म पुग्ने वातावरण बनाउन पर्यटकलक्षित संरचनाहरु निर्माण गरिने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।













