चिसो बढ्दै गइरहेको छ । केही दिनअघि यो क्षेत्रमा भारी हिमपात पनि भयो । ल्होमन्थाङ गाउँपालिका छोसेरका २८ वर्षीय पेमाछिरिङ गुरुङले माइनस १५ डिग्री सेल्सियस तापक्रममा नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ । कोरला नाकामा घुम्न आउने पर्यटकलाई सामान बिक्री गर्न बसेका गुरुङले अत्यधिक चिसोका कारण पर्यटक आगमन न्यून भए पनि पसल कुरेर बसेको बताउनुभयो । युवा व्यवसायी गुरुङ जस्तै छोसेरका लाक्पाछेचुङ गुरुङ र फुर्बुसाङ्मु गुरुङ पनि नियमित चिनियाँ बजार गएर सामान ल्याई बिक्री गर्नुहुन्छ ।
समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकामा ४५ वटा पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामान बिक्री गरिरहेका छन् । लिजी–नेचुङ (कोरला) व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै कोरला नाकामा ल्होमन्थाङ–१ र २ वडाका करिब ११४ जनाभन्दा बढीले व्यवसाय र चिनियाँ भन्सार कार्यालयमा पुगेर सामान खरिद गरिरहेका छन् । व्यवसायी गुरुङ भन्नुहुन्छ, “अब पुस लागेपछि मात्रै जाडो छल्न तल जान्छाँै, कोरला नाकामा आएका व्यवसायीबाट सामान्य व्यवसाय चलिरहेको छ ।”
कोरला नाकानजिकै लस्करै रहेका टेन्टभित्र सामान बिक्री गरी पुस महिनामा पोखरा, काठमाडौँलगायतका सहरमा घुम्ती व्यवसाय गर्न जाने योजना यहाँका अधिकांश व्यवसायीले बनाएका छन् । छोसेरका स्थानीय फुर्बासाङ्मु गुरुङले विगत वर्षमा कात्तिकमै जाडो छल्न बेँसी झर्ने गरेकोमा कोरला नाका सञ्चालनमा आएपछि अधिकांश व्यवसायी मङ्सिर लाग्दा पनि यहाँ नै व्यापारमा रमाइरहेका बताउनुभयो ।
विसं २०८० को कात्तिक २७ देखि नेपाल–चीन कोरला नाका खुलेपछि व्यवसाय सुरु गरेका पुराना र नयाँ व्यवसायीले चिनियाँ सामानसँगै खाना, नास्ताको सेवा पनि दिने गरेका छन् । गत भदौ ३० देखि व्यावसायिक रूपमा नाका सञ्चालनमा आएसँगै नाकामा व्यवसाय गरिरहेका मुस्ताङी चिनियाँ भन्सार कार्यालयमा रहेको स्टलमा बिहान ९ बजे प्रवेश गरी दिउँसो २ बजे फर्किने गरेका छन् । कोरला नाकास्थित दसगजा क्षेत्रबाट करिब तीन सय मिटरको दुरीमा नेपालीलाई व्यवसाय गर्न मिल्ने गरी स्टल बनाइएको छ ।

ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसिनर्बु गुरुङले नाका खुलेपछि यहाँका व्यवसायी बेँसी झर्न छाडेर व्यापारमा लागेका बताउनुभयो । ल्होमन्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय हुँदै कात्तिकसम्म्म सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रुपियाँको सामान आयात भएको छ । नाकाबाट नियमित विद्युतीय सवारीसाधन, विद्युतीय उपकरण, खाद्यान्न, लत्ताकपडासहितका सामान आयात भइरहेको अवस्थामा स्थानीय व्यवसायी, मजदुर र सवारीसाधनका चालकलाई समेत भ्याइनभ्याइ रहेको भन्सार प्रमुख रमेश खड्काले बताउनुभयो ।
प्रमुख खड्काले नेपाली सामानसमेत निर्यात भइरहेको अवस्थामा तल्लो क्षेत्रबाट समेत व्यवसायी आउनेजाने भइरहेको जानकारी दिनुभयो । नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडक क्षेत्रमा सुनसान भए पनि नेचुङ र कोरला नाका क्षेत्रमा पर्यटकबाहेक भन्सार प्रयोजनका लागि पुगेका र स्थानीयको भिडभाडै छ । व्यापार व्यवसायले मुस्ताङका स्थानीयको दैनिकीसमेत फेरिएको छ ।












