म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज बुधबार बिहानैदेखि बालाचतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ। पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका थिए। भक्तजनहरूलाई सहज रुपमा पूजा आराधना गर्ने वातावरण बनाउनका लागि लाइनमा बसेर पालैपालो पूजा गर्ने व्यवस्था मिलाइएको थियो।

भक्तजनलाई नेपाल प्रहरी,स्थानीय संघंसंस्था विद्यार्थी लगायत विभिन्न सङ्घसंस्थाका स्वयंमसेवकहरुले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन्।अनुकूल मौसम र सहज व्यवस्थापनका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।
पुजा अर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौँ लगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरू आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। करिब ३० हजारभन्दा बढी भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । यसपटक गलेश्वर मन्दिरमा कर्णाली प्रदेशबाट समेत समुहमा दर्शनका लागि भक्तजनहरु आएका छन् ।

भक्तजनलाई मन्दिरका महत्त्वपूर्ण स्थानमा जडान गरिएका एक दर्जन भन्दा बढी सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिएको थियो। हजारौँ भक्तजन भए पनि मन्दिरमा पूजाआजा र सुरक्षा रहेको, भिडभाडमा चोरी हुने जोखिमले स्वयंसेवक परिचालन गरिएकाले सजिलै पूजा गरी फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल गलेश्वर यूनिटले कालिगण्डकी नदी क्षेत्रमा स्नान गर्ने क्रममा जोखिमलाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन गरेको छ । बालाचतुर्दशीमा सत बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। शत बीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ। सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै शत बीज छर्ने चलन छ।
बालाचतुर्दशीमा एक गेडा शत बीज छरे पनि एक टुक्रा सुन दान गरे जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दै पाशुपत क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ।

द्वापर युगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सत बीज छर्नका लागि हजारौँ भक्तजन आउँछन्। गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहानै काली गण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीप दानसहित शत बीज छर्ने प्रचलन रहेको छ। काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ। गलेश्वर मन्दिरमा काल गण्डकी नदीबाट जल लिएर स्नान गर्ने सुविधाले समेत भक्तजनलाई सहज भएको छ।














