---Advertisement---

ऐतिहासिक ताकम–कोत : मनोरम दृश्यावलोकनको उत्कृष्ट गन्तव्य (फोटो फिचर)

On: November 20, 2025 1:44 PM
Follow Us:

म्याग्दी– पूर्व र उत्तरतर्फ फर्किएर हेर्दा हिमालहरु हाँसिरहेका छन् । तलतिर हे¥यो भने बेंसीका फाँटमा पहेँलपुर धान झुलेको र म्याग्दीखोलाको खोंच देखिन्छ । यहाँ पुस, माघमा सेताम्य हिउँ पर्छ भने चैत, बैशाखमा ढकमक्क लालीगुराँस फूल्छ । ग्रामीण वस्तीहरुको सौन्दर्यसहित तरेली परेका डाँडाकाँडासहितको सुन्दरतालाई धित मरुन्जेल हेर्न पाइने ठाउँ मध्येको उत्कृष्ट गन्तव्य म्याग्दीको ताकम–कोत पनि एक हो ।

ग्रामीण वस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका पहाडहरुको मनोरम दृश्यले यहाँ पुग्ने जो कोही वा पर्यटकलाई पनि मन्त्रमुग्ध बनाउँछ । एकाबिहानैको सुर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकनका साथै म्याग्दीको पश्चिम क्षेत्रका अधिकांश भू–भागहरु देखिने ताकम कोतको धेरै बयान गर्नुपर्दैन । हिउँ खेल्न र लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुन्छन् । यहाँ पछिल्लो समय नेपाली फिल्महरु समेत छायाङ्कन हुँदै आइरहेका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७, नम्बर वडामा पर्ने ताकम–कोत पछिल्लो समय पर्यटकीय आकर्षणको गन्तव्यका लागि उत्कृष्ट स्थल बन्दै जान थालेको छ । ताकम र धारापानी गाउँको सिरानमा ऐतिहासिक ताकम–कोत पर्दछ । ताकम कोतमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण र रोजाइमा परेको ताकम–कोत धवलागिरि गाउँपालिकामा विभिन्न कार्यक्रमहरु लिएर जानेहरु समेत पुग्ने गरेका छन् । यहाँ पुगेपछि म्याग्दीका लेकाली वस्तीको सौन्दर्य, मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन तथा स्थानीयवासीको कला, संस्कृति र भेषभूषाको समेत अवलोकन गर्न पाइन्छ ।

ऐतिहासिक ताकम कोतमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको स्थानीयवासीले बताएका छन् । ताकम–कोत मन्दिरको परिसरसम्मै पुग्ने सडक तथा पदमार्गको सहज पहुँच विस्तार भएपछि पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको हो । समुन्द्री सतहदेखि झण्डै २ हजार पाँचसय मिटरको उचाइमा अवस्थित ताकम–कोत मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । नेपालमा चलेको तत्कालीन बाइसे–चौबीसे राज्यको पालामा त्यतिबेला थापा राजाहरुले ताकम कोतबाट राज्य सञ्चालन गरेका थिए । पछि मल्ल राजाहरुले त्यहाँ आक्रमण गरेर जितेपछि ताकम राज्यलाई ऐतिहासिक पर्वत राज्यमा गाभिएको थियो ।

ताकम कोतमा पुरातात्विक महत्वका विभिन्न हातहतियारहरु सुरक्षित रहेका छन् । ताकम कोतमा बडादसैँमा नवदुर्गाको पुजाआजा गरी पाठो, भेडा र राँगोको बलि दिने गरिन्छ । भाकल तथा बाख्राको पाठोलाई ओदानमा, भेडालाई आलमथान र राँगोलाई कुण्डमा बलि दिने परम्परा रहेको ताकम कोतका पुजारी दलबहादुर थापाले जानकारी दिनुभयो । नवदुर्गामा राँगो, पाठो, भेडा, फुर्सेसहित पञ्चबलि दिने गरिन्छ भने शान्तिको प्रतिक परेवा उडाइन्छ । धार्मिक दृष्टिकोणका हिसाबले पनि ताकम–कोत निकै महत्वपूर्ण ठाउँका रुपमा रहेको छ ।

ताकम–कोत मन्दिरभित्र जगन्नाथ, अन्नपूर्ण, भगवती, गणेश, रामलक्ष्मण, जिम्मु, शिवजी, जालपा, नरसिंहका मूर्ति तथा छेला, खुडा, तरबारलगायत महत्वपूर्ण हातहतियारहरु छन् । ताकम–कोत मन्दिरको परिसरबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमाल, दशौं अग्लो चुचुरो अन्नपूर्ण तथा माछापुच्छ«े, निलगिरि, मानापाथी, गूर्जा, पुथा, चुरेनलगायत दजनौं हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । त्यस्तै यहाँबाट ताकम र मुना गाउँसहित मुनाको मालिका, मुदीको बगरा, मालिका गाउँपालिकाको देवीस्थान, विम र मालिका, देवीस्थानको मामा–भान्जा काटाकाट गरेको धुरीलगायत ग्रामीण वस्ती र डाँडाकाँडाहरु समेत देखिने स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

ऐतिहासिक ताकम–कोत क्षेत्रको भ्रमण गर्न पाउँदा ताकम–कोत आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक लागेको त्यहाँ पुग्नुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कोषाध्यक्ष साधन राम्जालीले अनुभव सुनाउनुभयो । धवलागिरि गाउँपालिकामा कार्यक्रम लिएर जाने विभिन्न संघसंस्था तथा व्यक्तिहरु पनि अहिले ताकम–कोत मन्दिरको दर्शन तथा भ्रमणका लागि पुग्ने गरेका छन् । पछिल्लोपटक ताकम–कोत परिसरमा आन्तरिकसँगै बाह्य पर्यटकहरुको पनि चहलपहल बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

ताकम कोतमा पर्यटकलक्षित मन्दिर, सत्तल, पदमार्ग, हनुमानको मूर्तिलगायत संरचनाहरु निर्माण गरिएको छ । यसअघि ताकम घनावस्ती विस्तार कार्यक्रममार्फत पदमार्ग निर्माण तथा ताकम कोत मन्दिरको कोषबाट मन्दिरसम्म पुग्ने सडकको पहुँच विस्तार गरिएको थियो । यसैगरी पुरातत्व विभागको आर्थिक सहयोगमा ताकम कोतमा धार्मिक पर्यटकलाई लक्षित गरेर मन्दिर समेत बनाइएको छ । ताकम कोतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि आवश्यक पहलहरु थालिएका छन् ।

Leave a Comment