म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरू गरिएको छ । डिजिटल मैत्री बनाउने अभियानका क्रममा रहेको विद्यालयले एण्ड्रोइड १४.० भर्सनको एआई प्रविधि सहितका विभिन्न फिचर भएको टचस्क्रिन स्मार्ट बोर्ड जडान गरेको छ ।

विद्यालयमा प्रवेशद्धारदेखि कक्षा कोठासम्म प्रविधियुक्त बनाउन पहिलो चरणमा ७ वटा स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरू गरिएको विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताउनुभयो । ‘स्मार्ट बोर्ड डिजिटल प्रविधि भएकाले कक्षा कोठामा चाहिने विषयबस्तु खोजेर पढ्न र पढाउन सहज हुन्छ’ प्रअ श्रेष्ठले भन्नुभयो ।

स्मार्ट बोर्डको माध्यमबाट कक्षाकोठामा अनुपस्थित भएका विद्यार्थीलाई समेत उपलब्ध गराउन सकिने प्रअ श्रेष्ठको भनाई छ । विद्यालयले पहिलो चरणमा कक्षा ९, १०, ११ र १२ मा जडान गरेको स्मार्ट बोर्ड आर्थिक स्रोत ब्यवस्थापन भएपछि दोस्रो चरणमा आधारभुत तह ५–८ का सबै कक्षामा स्मार्ट बोर्ड पु¥याउने लक्ष्य विद्यालयको रहेको छ । कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा हुने, शिक्षक नभएको अवस्थामा समेत विद्यार्थीले पढ्न र अभ्यास गर्न सक्ने शिक्षक मदन सुबेदीले बताउनुभयो ।

शैक्षिक क्रियाकलापहरु आवश्यकता परेमा विद्यार्थी,अभिभावकहरूलाई सिधै इमेल,क्यू आर कोडको प्रयोग गरी सुरक्षित राख्न तथा अन्य विद्युतीय उपकरणबट समेत प्रदर्शनी गर्न समेत सकिने भएकाले यसको प्रयोग प्रभावकारी मानिन्छ। स्मार्ट बोर्ड जडान गरेसँगै तिब्रगतिको इन्टरनेट समेत जडान गरिएको विद्यालयले जनाएको छ ।


यसअगाडी विद्यालयले विद्यार्थीले आफ्नो आइडी कार्डमा भएको चिपलाई डिभाइसमा स्क्यान गर्ने ‘ई–हाजिरी’ प्रणाली जडान गरेको थियो । विद्यालयमा आधारभुत तहदेखि कक्षा १२सम्म १४ सय विद्यार्थी अध्ययनरत छन् भने देशभरबाट १ सय ८९ विद्यालयले भ्रमण समेत गरेका छन् ।











