म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रादेशिक अस्पतालमा सर्जनको चिकित्सक नहुदाँ सर्जरी सेवा प्रभावित भएको छ । जिल्लाको एक मात्रै सरकारी अस्पतालमा कार्यरत सर्जनले राजिनामा दिएर गएपछि सामान्य सर्जरी,एपेन्डिसाइटिस, हाइड्रोसिल, हर्निया सहित जटिल अप्रेशन सेवा बन्द भएको छ ।
५० सैयाको अस्पतालमा सामान्य सर्जरीका लागि आउने बिरामी समेत बागलुङ, पोखरा जानुपर्ने बाध्यता छ । दैनिक अस्पतालमा आउने सर्जरीका बिरामीलाई चिकित्सक नभएको भन्दै बाहिर पठाउने गरिएको अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ । अस्पतालभित्र एपेन्डिसाइटिस, हाइड्रोसिल, हर्नियाको उपचार नहुदाँ बिरामीले महंगोमा नीजि अस्पतालमा गएर सेवा लिनुपरेको छ ।
बेनी अस्पतालका निमित्त प्रमुख डा.रामु सापकोटाले कन्सल्टेन्ट सर्जरी, कन्सल्टेन्ट पेडियाट्रि«सियन, कन्सल्टेन्ट रेडियोलोजिष्ट, कन्सल्टेन्ट अब्स्टे««टिक एण्ड गाइनेक्लोजिष्ट, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया र फार्मेसी सहायकको पतपूर्तिका लागि सूचना जारी गरिएको बताउनुभयो ।‘रिक्त रहेको पदमा चिकित्सक मागेका छौ, प्रदेश सरकारलाई पनि पटकपटक खवर गरिएको छ’ निमित्त प्रमुख सापकोटाले भन्नुभयो । हाल अस्पतालमा अन्तरङ्ग र बहिरङ्ग सहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा नियमित रहेको छ ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुदाँ शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्दका कारण बिरामीलाई समस्या भएको छ । प्रसुती सेवा तथा त्यपछि सुत्केरी र शिशुको उपचारमा आवश्यक पर्ने चिकित्सक नै नहुदाँ अस्पताल अहिले डेलिभरीका लागि रिफर सेन्टर बनेको छ ।
यसैबीच गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले बेनी अस्पतालको समस्या समाधानका लागि काम भइरहेको बताउनुभयो । ‘यहाँबाट पठाएको चिकित्सक समेत नपुगेको देखियो, अब सेवा सुचारुका लागि आवश्यक पर्ने जनशक्ती ब्यवस्थापन गछौं, केहीदिनमा नतिजा देख्नुहुन्छ’ मन्त्री पाठकले बेनीअनलाइनलाई भन्नुभयो ।
निक साइमन्स इस्टिच्युटको सहयोगमा एकदशक अगाडी शल्यक्रियासहितको प्रसूति सेवाबाट म्याग्दी, मुस्ताङ,पर्वत र बागलुङ जिल्लाका बिरामीले समेत सेवा लिने बेनी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक ब्यवस्थापन हुन सकेको छैन । अस्पतालमा अति आवश्यक पर्ने सेवाप्रवाह नै प्रभावित हुदाँ समेत सरोकारवाला निकाय मौन छन् । बेनी अस्पतालमा बर्षेनी ६० हजारभन्दा बढीले सेवा लिने गरेका छन् ।









