म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन लागेको २३ औँ अन्तर मावि जेसीजकप फुटवल प्रतियोगितामा यसपटक धनराशी बढाइएको छ । आइतवार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ती क्षत्रीले गतबर्षको भन्दा पुरस्कार समेत बढाइएको र पहिलोपटक केही विद्यालयले समेत प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।

पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका कोषाध्यक्ष नविन पौडेलको मुल संयोजकत्वमा २० विभिन्न उपसमितिको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष घर्ती क्षत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५५ हजार ५५५ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३५ हजार ५३५ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड िफल्डर, राईजिङ प्लेयर, उत्कृष्ट कोच,अनुशासित टिम नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको मुल संयोजक नविन पौडेलले बताउनुभयो ।
प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ। अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने मुल संयोजक पौडेलको भनाई छ ।

प्रतियोगितामा कुल आम्दानी ७ लाख ८० हजार र खर्च ७ लाख ५७ हजार २३१ हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय जेसीजका उपाध्यक्ष सन्दिप खत्री, पूर्व अध्यक्ष बिनय श्रेष्ठ,खम थापा, अध्यक्ष सुमन बानियाँ, विरेन्द्र श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । सोमबार साँझ औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिताको खेल भने बेनीको खुलामञ्चमा सञ्चालन हुनेछन् । प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका छन् ।









