म्याग्दीको मंगला गाउँपालिका–५, चाङ्गा खर्क पदयात्राका लागि नयाँ गन्तब्य भएपनि प्रचारप्रसार र पुर्वाधारको अभावका कारण ओझेलमा परेको छ । सिर्कुम गाउँको शिरमा समन्द्री सतहदेखि २२ सय ५० मिटरको उचाइमा अवस्थित चाङ्गाबाट धौलागिरी, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरी र माछापुच्छ्रे हिमाल देख्न सकिन्छ ।

मंगला गाउँपालिकाको नयाँ र समथर फाँटमा अवस्थित चांगाको सुन्दरता पर्यटकको पखाईमा रहेको वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षत्रीले बताउनुभयो । हिमाली मुस्कान, चराको चिरबिर र जंगलको हरियाली मुख्य आर्कषण भएकाले आन्तरिक पर्यटकका लागि छोटो दुरीको आर्कषक गन्तब्य भएको वडा अध्यक्ष क्षत्रीले बताउनुभयो ।

डाँडाको काखमा बसेका गाउँहरू सिर्कुम र टिकावाङका बासिन्दाले चरन क्षेत्रका लागि प्रयोग गर्ने चाङ्गा क्षेत्र अर्गाििनक उत्पादन समेत हुन्छ ।
दलित, मगर र क्षेत्री समुदायको बसोबास रहेको यस क्षेत्रलाई गाउँपालिकाले पर्यटकीयस्थल बनाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । गाउँपालिका अध्यक्ष रोकाले आन्तरिक पर्यटन प्रर्बधनका लागि स्थानीयस्तरमा होमस्टे सहित अन्य पूर्वाधारका लागि समेत थप सहयोग गर्ने बताउनुभयो । चांगा खर्कमा बराह मन्दिर रहेको छ भने समथर भुभागमा विविध गतिविधिका लागि सम्भावना रहेको छ ।

अहिले दिउँसोको समयमा घुम्न जानेहरु राती फर्किने गरेको अवस्थामा खर्कमा खाना र बास बस्ने सुविधा भएमा पर्यटकको आगमन बढ्ने भएकाले वडाका जनप्रतिनिधिले समेत होमस्टे सहितका पूर्वाधारमा चासो देखाएका छन् । क्याम्पिङ गरेर बस्नका लागि उत्कृष्ट स्थान मानिन्छ । जैविक विविधताका हिसाबले पनि चाङ्गा आकर्षक मानिने भएकाले जडिबुटी र बन्यजन्तु प्रस्तस्तै भेटिन्छन् ।

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ। बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चाङ्गा पुग्ने पदमार्ग पनि छ। पदयात्राबाट त्यहाँ पुग्दा सुन्दरता पोखिएको र आसपासका दृष्यले सबैलाई मोहित बनाउने गर्दछ । वनभोज, हाइकिङ र क्याम्पिङ गरी स्थानीय उत्पादनको बिक्री तथा घरबास कार्यक्रमका लागि नेपाल पत्रकार महासंघ म्याग्दीले पर्यटन प्रर्बधन कार्यक्रम समेत आयोजना गरेको छ ।











