---Advertisement---

अलैँची बेचेर अर्मन टिकावाङका किसानले कमाए १० लाख, सिंगो गाउँ अलैची खेतीमा आर्कषित

By हरिकृष्ण गौतम
On: November 24, 2025 7:34 AM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-५,अर्मन टिकावाङका दिलबहादुर थापाले यसबर्ष गाउँमा पुगेका ब्यापारीलाई अलैची बेचेर साढे सात लाख आम्दानी गर्नुभयो । ब्यवसायिक रुपमा अलैंची खेतीमा लाग्नुभएका थापाले ३ क्विन्टल ८० केजी अलैंचीलाई घरमै आएका ब्याापारीलाई प्रति केजी १९ सय ५० रुपैयाँमा बिक्री गर्नुभएको हो ।

बि.स २०७४ सालदेखि अलैंची खेतीमा लाग्नुभएका वडा सदस्य समेत रहनुभएका थापाको आम्दानी हरेक बर्ष बढ्दै गएको छ भने बाँझो जमिनमा समेत नयाँ बिरुवा विस्तार गर्नुभएको छ । थापाजस्तै स्थानीय शेरबहादुर थापाले ८० केजीबाट १ लाख ५३ हजार, दुर्गाबहादुर थापाले १५ केजी अलैची बिक्री गर्नुभयो । गाउँका १२ जना कृषकले २ देखि १० केजीसम्म अलैची बिक्री गर्नुभएको छ । ‘अलैची खेतीबाट राम्रो आम्दानी भएको छ, सिंगो गाउँ नै अलैची खेतीमा आर्कषित छ’ वडा सदस्य दिलबहादुरले भन्नुभयो ।


करिब १ सय घरधुरी रहेको टिकावाङका अधिकांस अलैची खेतीमा आर्कषित भएपछि केहीबर्षमा लाखौंको अलैची बिक्री हुने कृषक थापाको भनाई छ । हरेक घरमा धेरै–थोरै अलैँची खेती हुन थालेपछि गाउँपालिकाले बिरुवा र मेसिनमा समेत अनुदान दिएको छ ।

विगतमा बजार खोज्दै जानुपर्ने बाध्यता रहेको स्थानीयलाई अहिले ब्यापारी नै अग्रिम भुक्तानी समेत दिएर गाउँमै आउन थालेपछि निकै उत्साहित छन् । स्थानीय कृषकका अनुसार अलैँचीको उत्पादन गर्न सकेमा बिक्रीमा समस्या छैन । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अर्मनलाई अलैचीको हब बनाउन अनुदान तथा सिप हस्तान्तरणमा प्राथमिकता दिएको बताउनुभयो । अर्मनका विभिन्न क्षेत्रबाट अलैची खेतीबाट करिब १५ लाखभन्दा बढी आम्दानी गरेका छन् ।


‘अलैचीबाट बर्षेनी कृषकले मनग्य कमाइरहनुभएको छ,अब बाँझो र सामुदायिक बनमा पनि अलैची खेतीका लागि पहल गरेका छौ’ अध्यक्ष रोकाले बेनीअनलाइनलाई भन्नुभयो । यसबर्ष अलैची टिपेर सुकाएर ब्यापारीलाई बेचेका स्थानीय कृषकले नयाँ बिरुवा विस्तार तथा खेतीमा सरसफाईमा ब्यस्त छन्।

अलैंची खेती र बजारमूल्यको बारेमा थाहा पाएपछि परम्परागत खेतीपाती भन्दा व्यावसायिक अलैंची खेतीमा आर्कषित भएको स्थानीय कृषकको भनाई छ । अर्मनकै खोलाखर्कमा समेत ब्यवसायिक अलैची खेती भइहरेको छ । अलैंचीका लागि ओस्याइलो र चिसानयुक्त ठाउँ चाहिने र यसका लागि अर्मनको तल्लो भेग,खोलाखर्क र सामुदायिक वन अति उपयुक्त मानिन्छ । गाउँपालिकाले अलैंची सुकाउने मेसिन सहितको उपकरणमा समेत सघाएको छ ।

हरिकृष्ण गौतम

Leave a Comment