‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित यसवर्ष पनि मङ्गलवारदेखि देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । यसैक्रममा म्याग्दीको मालिका गाउँपालिकासहित जिल्लाको विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरी १६ दिने अभियान मनाउन थालिएको हो ।

मालिका गाउँपालिका, सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको आयोजना, शिक्षाका लागि राष्ट्रिय अभियान, मानवअधिकार एलायन्स र महिला अधिकारका लागि राष्ट्रिय अभियानको समन्वय एवं सहकार्यमा दरबाङमा कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सहभागीहरुबाट दरबाङ बजारमा विभिन्न नाराहरु भन्दै प्लेकार्डहरु प्रदर्शनसहित प्रभातफेरी ¥याली निकालिएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लैङ्गिक हिंसा न्युनीकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर धेरै हिंसाका घटनाहरु भैरहेको बताउँदै उहाँले सामाजिक सञ्जालको सही तरिकाले प्रयोग गर्न जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सबैले आ–आफ्नो घर, परिवारबाटै न्यूनीकरणको सुरुवात गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाको न्यायिक सहजकर्ता मिठू आचार्यले बालविवाह न्यूनीकरण तथा कानुनी व्यवस्था, इलाका प्रहरी कार्यालय दरबाङका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ प्रहरी नायव निरीक्षक नवराज पौडेलले साईबर अपराध, यसबाट हुन सक्ने हिंसा र समाधानका उपायहरु तथा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहास र उद्देश्यमाथि सहजीकरण गर्नुभएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालको विशेष उपस्थिति रहेको कार्यक्रम गाउँपालिका उपाध्यक्ष पुनको अध्यक्षता र उद्यम विकास सहजकर्ता होमदेवी खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालय तथा केबि एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच बेनी नगरपालिकाको आयोजनामा पनि सदरमुकाम बेनीबजारमा प्रभातफेरी ¥याली गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । प्रभातफेरी कार्यक्रमको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले समापन गर्नुभएको थियो । अभियान अन्तर्गत नगरपालिकाकाले वडास्तरमा कार्यक्रम गर्ने जनाएको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्र संघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियानहरु सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन थालिए पनि वि.सं. २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१औँ शताब्दीमा आएर पनि महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासको कारणले महिलाको नेतृत्व स्वीकार हुने वातावरण अझै बन्न सकेको छैन ।








