---Advertisement---

‘म हिंसा गर्दिन, म हिंसा पनि सहन्न’

On: November 27, 2025 8:11 AM
Follow Us:

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक तथा विद्युतीय हिंसा र बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधवार म्याग्दीको मालिका गाउँपालिका–२, रुममा कार्यक्रम गरिएको हो ।

मालिका गाउँपालिका, सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको आयोजना, शिक्षाका लागि राष्ट्रिय अभियान, मानवअधिकार एलायन्स र महिला अधिकारका लागि राष्ट्रिय अभियानको समन्वय एवं सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएका छन् । अभियानको पहिलो दिन पालिकाको केन्द्र दरबाङमा प्रभातफेरी ¥यालीसहित कार्यक्रम सुरु गरिएको थियो भने दोस्रो दिन रुममा गरिएको हो ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक र इलाका प्रहरी कार्यालय दरबाङबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पनि सचेतनाको कार्यक्रम सम्पन्न गरिएको थियो ।

१६ दिने अभियानको महत्व बुझाउन, समुदायस्तरबाटै लैङ्गिक हिंसाको अन्त्य गर्न तथा अवैध लागूऔषधको ओसारपोसारलाई नियन्त्रण र ग्रामीण क्षेत्रमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रमहरु गरिएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय सामाजिक सञ्जालबाट विभिन्न प्रकारका हिंसाहरु बढिरहेकाले सही तरिकाले सञ्जालको प्रयोग गर्नुपर्ने बताउनुभयो । हिंसा न्यूनीकरण गर्नका लागि विद्यालय तहबाट समुदायमा सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहजीकरणसहित सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बालविवाह सामाजिक अपराधको रुपमा रहेकाले २० वर्ष उमेर पूरा नभई विवाह गराइदिनलाई समेत कानुन अनुसार कारवाही हुने बताउनुभयो । उहाँले २० वर्षको उमेर पूरा नगरी विवाह गरेमा महिलाको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले कानुनले तोकेको मापदण्ड अनुसार विवाह गर्न र गराउन सहभागीलाई सुझाव दिनुभयो ।

कार्यक्रमको समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले आफ्नो बालबालिकाहरुलाई भविष्यमा कस्तो बनाउने भनेर स्वयं अभिभावकले विशेष रुपमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले विद्युतीय अपराध, यसबाट हुने हिंसा र समाधानका उपाय, मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औचित्य र महिला अधिकारका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक जमुना आचार्यले सकारात्मक सोच तथा उत्प्रेरणाको विषयमा सहजीकरण गर्नुभएको थियो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षता र उद्यम विकास सहजकर्ता होमदेवी खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडानम्बर २ रुमका वडा अध्यक्ष उदयकुमार बुढाथोकीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका न्यायिक सहजकर्ता मिठू आचार्य, महिला तथा बालबालिका शाखा प्रमुख पूजाकुमारी ढाँट, राष्ट्रिय माध्यमिक विद्यालय रुमका विद्यार्थीहरु, आमा समूह र स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Comment