---Advertisement---

खेलकुदले विद्यालयको ‘क्यालेन्डर’ भद्रगोल

By हरिकृष्ण गौतम
On: November 27, 2025 8:23 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारमा २३ औँ अन्तर मावि. जेसीजकप फुटवल प्रतियोगिता सुरू भएको छ । १९ विद्यालयले सहभागिता जनाएको प्रतियोगिता मंसिर १३ गतेसम्म सञ्चालन हुन्छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजना मंसिर १८ देखि २० गते सम्म दोस्रो लायन्स कप जिल्ला स्तरीय अन्तर माबि छात्रा रनीङ शिल्ड फुटबलको कार्यतालिका रहेको छ ।

दशैंतिहारको एक महिना विदा सकेर विद्यालयमा प्रवेश गरेका विद्यार्थी कात्तिक र मंसिर महिनाको पहिलो सातासम्म म्याग्दीका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागि भए । पालिकास्तरीय प्रतियोगिता रघुगंगा गाउँपालिका र मालिका गाउँपालिका र जिल्लास्तरीय राष्ट्र«पति कप सम्पन्न हुदाँ मंसीर महिना सकिन्छ । जुनियर रेडक्रस सर्कलको कक्षा ८ सम्मको फुटबल, विद्यालयमा फुटसल, भलिबल सहित ग्रामिण क्षेत्रमा विभिन्न यूवा क्लवका प्रतियोगिताको सूची अनगिन्ती छन्। नियमित जसो हुने खेलकुदजन्य गतिविधिका कारण फागुन महिनासम्म विद्यार्थीको पठनपाठन प्रभावित हुन्छ ।


विद्यालयबाट खेलमैदानमा जाने खेलाडीसँगै अन्य विद्यार्थीको नियमित शैक्षिक गतिविधि समेत अवरुद्ध भइरहेको अवस्थामा चाडपर्वपछि हरेक बर्षको शैक्षिक र खेलकुद क्यालेन्डरका कारण विद्यार्थीको पठनपाठन डामाडोल भएपनि स्थानीय तह, सरोकारवाला निकायले चासो देखाएका छैनन् । हरेक बर्ष बहस र दशैंतिहारपछि हुने खेलकुद गतिविधिले शैक्षिक क्यालेन्डर बिग्रेको छ । शिक्षक र विद्यार्थी नै खेलकुदमा होमिने म्याग्दीका स्थानीय तहले खेलकुद गतिवधिको क्यालेन्डर बनाउन सकेका छैनन् ।

विदामा सुनसान हुने खेलकुद गतिविधि नियमित पढाइमा लस्करै आउँदा पठनपाठन प्रभावित भएको दिपशिखा मावि कुहुँका प्रअ डा. नन्दबहादुर खत्रीले बताए । ‘खेलैखेल धेरै भयो, अब यसलाई उचित ब्यवस्थापन नगरे पछि सम्हाल्न गा¥यो हुन्छ’ प्रअ खत्रीले भने। उनले शैक्षिक सत्रको सुरुवातमा नै खेलकुद तालिका सञ्चालन गरी दशैंतिहारपछि पढाइमा केन्द्रित गर्नुपर्ने बताए ।


विद्यार्थीहरूलाई निर्धारित पाठ्यक्रम र उपलब्ध शैक्षिक सामग्री अनुसार एउटै कक्षाकोठामा पढाउनुपर्ने अवस्थामा खेलकुद गतिविधि र मोवाइलमा हुने विभिन्न खेलले विद्यार्थीको सिकाइ क्षमता खस्किदै गएको छ । बर्षभरी ८ सय घण्टा पढाउनुपर्ने भएपनि शैक्षिक सत्रको अन्त्यमा हतार–हतार कोर्स पूरा गर्दाको परिणाम एसइईको नतिजामा देखिएको छ । जिल्ला शिक्षा विकास समन्वय एकाइ म्याग्दीका प्रमुख बिदुर शर्मा चापागाईले खेलकुद विद्यार्थीलाई अनिवार्य आवश्यक भएपनि पठनपाठनमा असर नगर्ने गरी सञ्चालन गर्नुपर्ने बताए ।

स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट शैक्षिक र खेलकुद गतिविधिलाई कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर समस्या समाधान हुने शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन् । ‘शैक्षिक क्यालेन्डरमै समयतालिका बनाउन सकेमा झनै राम्रो हुन्छ, हामीले सहजीकरण गर्न तयार छौ’ इकाई प्रमुख चापागाईले भने । म्याग्दीको शैक्षिक तालिका दिशाहीन बन्न नदिने गरी सुधारका लागि स्थानीय सरकारले समयमै पहल नगर्ने हो र समाजका सरोकारवाला निकायले कानमा तेल हालेर बस्ने हो भने आगामी दिन नतिजा झनै कहालीलाग्दो बन्ने निश्चित छ।


माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा हरेक बर्ष निरासजनक छ । म्याग्दीमा गतबर्षसम्म माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घट्दो र तल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको अवस्थामा खेलकुद र मोवाइल र सामाजिक सञ्जालको लतले पठन संस्कृतिको ह्रास आएको छ । विद्यालय तहको जगैदेखि राम्रो शिक्षण सिकाई गर्न सके प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण, शिक्षकका लागि एउटै विज्ञापन पटकपटक गर्नुपर्ने बाध्यता समेत कारण मानिन्छ ।

हरिकृष्ण गौतम

Leave a Comment