नेकपा एमालेले म्याग्दीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुंगो लगाएको छ । आगामी मंसिर २७– २९ सम्म हुन गइरहेको नेकपा महाधिवेशनका लागि म्याग्दीबाट ६ जनाको प्रतिनिधिका लागि सबै क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । नेकपा एमालेबाट खुल्लामा हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी,युवातर्फ प्रकाश पौडेल,दलितर्फ खरमाया बिटालु, महिला थमसरा पुन र यशुदा रोका रहनुभएको छ ।
प्रतिनिधि छनौटमा धेरै आकांक्षी भएपछि केन्द्रीय कमिटी सदस्य भूपेन्द्र थापा, नरदेवी पुन, निर्वतमान जिल्ला अध्यक्ष देबेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष प्रमोद श्रेष्ठ, गण्डकी प्रदेश कमिटी सदस्य एवम् बेनी नगरपालिकाका प्रमुख सुरत केसी र नारायण जिसीको सहजीकरण समितिमार्फत शुक्रबार सर्वसम्मत गरिएको जनाइएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि खुल्लामा १५ जना, यूवामा ४ जना, महिलामा ५ जना, दलितमा २ जनाको दावी रहेको थियो । नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले उम्मेदवारहरुका विचमा छलफल गरी सर्वसम्मत प्रतिनिधि पठाइएको बताउनुभयो । जिल्लामा पार्टीभित्र एकता र सहकार्यको सन्देश दिने गरी सर्वसम्मतले प्रतिनिधि चयन गरेको नेकपा एमालेले जनाएको छ ।








