जेसी विनय श्रेष्ठ/पूूर्व अध्यक्ष
२३औं जेसीजकप फुटवल–२०२५ को उपाधि भिडन्त पक्का भएको छ । म्याग्दी जेसीजको आयोजना र एभरेस्ट ग्लोबल एजुकेसन÷भिसाको टाइटलको स्पोन्सरमा मंसिर ८ गतेदेखि शुरु भएको २३ औं संस्करणमा बेनी सामुदायिक मावि बेनी र केबि एकेडेमी प्रवेश गरेसंगै नयाँ विजेता विद्यालय पाउने पक्का भएको छ । हालसम्म न्युवेष्ट प्वाइन्टले ६ पटक, प्रकाश मावि, बेनी बोर्डिङ र माउण्ट एभरेष्टले समान ५÷५ पटक र शारदा माविले १ पटक उपाधि जित्न सफल भएको छ ।
अब चर्चा विगतको ….
सन १९९९ मा बागलुङ जेसीजको मातृत्वमा स्थापित म्याग्दी जेसीजले सन २००१ बाट निरन्तर रुपमा जेसीजकप सञ्चालन गरेको छ । सन २००३ मा विविध कारण र सन २०२० मा कोरना महामारीको कारण जेसीजकप सञ्चालन हुन नसके पनि २३औं संस्करणमा आइपुग्दासम्म यस्का उपलब्धिहरूलाई निन्नानुसार चर्चा परिचर्चा गर्न सकिन्छ ।

१. जेसीजको प्रतिष्ठा स्थापना
हुनतः जेसीज तालिमको माध्यमबाट व्यक्तिको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो । जेसीजको केन्द्र बिन्दु व्यक्ति हो । तर जेसीजकप फुटवलको सञ्चालनले जेसीजलाई छुट्टै पहिचान दिएकोछ । जनमानसमा, समुदायमा परिचित गराएको छ । यो मात्र यस्तो कार्यक्रम हो, जस्ले जेसीजको चारवटै क्षेत्र व्यक्तिगत, व्यवसायीक, सामुदायिक र अन्तर्राष्ट्रिय क्षेत्रलाई समेट्छ । त्यसैले म्याग्दी जिल्लाको वल्डकपको रुपमा चिनिने यो प्रतियोगिता नेपाल जेसीजबाट लङ्टम प्रोजेक्टको रुपमा सम्मानित छ ।
२. नेतृत्व विकास
जेसीजको नेतृत्व विकास र व्यक्तित्व विकास भन्ने मुल मन्त्रलाई यस्ले आत्मसात गर्दछ । प्रतियोगिताको लोकप्रियताले व्यक्तिहरु सदस्य बन्न अभिप्रेरित बनेका छन् । शाखा अध्यक्ष, पदाधिकारीहरू, संयोजक, उपसंयोजक, रेफ्री, खेल शिक्षक, व्यवस्थापक, टिम क्याप्टेन लगायतको नेतृत्व र व्यक्तित्व विकासमा यस्ले अहम भूमिका खेलेको छ । जेसीजकपका मूलसंयोजक नै शाखाका अध्यक्ष बन्न सफल भएका छन् । जेसीजकप सम्पन्न गरेपछि शाखा अध्यक्षको जनमानसमा छुट्टै पहिचान स्थापित हुने गर्दछ । अध्यक्षको कार्यकाल पूरा गरेका व्यक्तिलाई अन्य संघसंस्थाले पनि सहर्ष रुपमा स्वीकार गरि नेतृत्वमा अघि बढाएको अवस्था छ ।

३. खेलाडी उत्पादन र विद्यालयको प्रतिष्ठा
जेसीकपका निरन्तरताले खेलाडी उत्पादनमा अहम भूमिका खेलेको छ । कक्षा १० सम्म अध्ययन गर्ने र लात्तो भकुण्डो हान्न जान्ने विद्यार्थीको एउटा सपना बनेको छ, कम्तीमा जेसीजकप खेल्ने र आफ्नो विद्यालयलाई जिताउने । त्यसैले विद्यालयले प्रशिक्षण दिदै खेलाडी उत्पादन गर्न कोसिस गरेको छ । कतिपय राम्रो खेलाडीहरूलाई आकर्षक छात्रवृत्तिमा समेत विद्यालयले अध्याापन गराउने र सो भन्दा राम्रो छात्रवृत्तिले अर्को विद्यालयले प्रदान गरि भर्ना समेत गराउने गरेको छ । छिमेकी जिल्लाका समेत राम्रा खेलाडीहरू म्याग्दीका विद्यालय भर्ना भै जेसीजकप खेल्ने सपना बुनेका छन् । पछिल्लो समय जिल्लाबाट र क्लवबाट प्रतिनिधित्व गर्ने सबै खेलाडी जेसीजकपमा उत्पादन रहेकाछन् । यसरी जेसीजकप खेल्नु र उपाधी हासिल गर्नुलाई विद्यालयले समेत प्रतिष्ठाको रुपमा लिएको छ । खेलाडीहरूमा जित र हारलाई स्वीकार गर्ने क्षमताको विकास गरेको छ ।

४. रेफ्रि उत्पादन, रोजगार र सम्मान
जेसीजले खेल सञ्चालनका लागि स्थानीय रेफ्रिहरूलाई नै प्रयोेग गर्दै आएको छ । शुरुआतका वर्षहरूमा पुराना खेलाडीहरुले रेफ्रि तथा अफिसियलको भुमिका निर्वाह गर्दै आएकोमा लामो समयदेखि जेसीजकपका पूर्व खेलाडीहरूले रेफ्रिको जिम्मेवारी निभाउदै आएकाछन् । यहि अनुभवका आधारमा केही रेफ्रिहरूले त एन्फाको मान्यता प्राप्त लाइसेन्स समेत हासिल गरेकाछन् । पूर्व खेलाडीहरूले विद्यालयहरूमा खेल शिक्षकको रुपमा रोजगारी प्राप्त गरेकाछन् । जेसीजले पूर्व रेफ्रि, पूर्व खेल शिक्षक, शुरुआतका वर्षहरू देखि क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकहरूलाई सम्मान गर्दै आईरहेकोछ ।

७. अर्थ संकलन र सहयोग हस्तान्तरण र व्यापार व्यवसाय प्रबद्र्धन
प्रतियोगिता सञ्चालन गर्नको लागि ठूलो धाराशीको आवश्यक पर्दछ । जेसीजकप सञ्चालनका लागि विभिन्न समयमा अक्षयकोषहरू स्थापना भएकाछन् । विभिन्न संघसंस्था, महानुभाव, उद्योगी, व्यापारीहरूले आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने गरेकाछन् । गत वर्ष एभरेस्ट ग्लोवल एजुकेसन÷भिसाले पाँच वर्षको लागि टाईटल स्पान्सर गरेको छ । प्रतियोगिताबाट शाखालाई अर्थ संकलन हुने गरेको छ । बचतको केही अंश सहयोग हस्तान्तरण गर्ने गरिएको छ । त्यस्तै सौजन्यदाताहरूको व्यापार व्यवसाय प्रबद्र्धनको उपयुुक्त प्लेटफर्म तयार भएको छ ।
८. जिल्लाको चिनारी, प्रचारप्रसार र जनमानसमा चासो
समग्रमा जेसीजकप जिल्लाकै चिनारीको रुपमा स्थापित भएको छ । यस्को प्रचारप्रसारका लागि जिल्लाका क्रियाशील पत्रकारहरू, सञ्चार माध्यम, सामाजिक सञ्वालको अहम् भुमिका रहेको छ । प्रतियोगिता प्रत्यक्ष प्रसारण हुदा ठूलो संंख्याले अवलोकन गर्ने गर्छन् । विद्यार्थीहरूमा विद्यालय प्रतिको अपनत्व महशुस गराएको छ । विभिन्न नाराहरू र चान्टको विकास भएको छ । हात्तीले अण्डा पार्दैन… , ओए औए… , हाईहाई … जस्ता नारा गुञ्जन्छन् । यसैलाई आधार मानेर संस्थाले आफ्नै जिंगल समेत तयार गरेको छ । अभिभावकहरू, खेलप्रेमी मात्र होइन ठूलो संख्यामा जनमानसहरू जेसीजकप कहिले आयोजना हुने, कस्ले जित्ने र अवलोकन गर्ने कुरामा महत्वपूर्ण रुपमा चासो दिने गर्दछन् ।

यसरी म्याग्दी जेसीज त एउटा माध्यम मात्र बनेको छ । कप शुरुआत गर्दा यति धेरै चर्चामा चुलिएला भनेर सायदै कसैले कल्पना गरेको थियोे होला । तर आज जिल्लाकै प्रतिष्ठा बनेको छ । अब २३औं जेसीजकप २०२५ को रोचक भिडन्त हेरेर नयाँ छैटौं विजेता विद्यालय पाउन केही घण्टा मात्र रहेको छ । मंसिर १३ गते हुने फाइनल जित्न र नयाँ विजेताको रुपमा उदाउन फाइलिष्ट विद्यालयहरू बेनी सामुदायिक मावि बेनी र केबि एकेडेमी दरवाङलाई शुभकामना !
जय जेसीज ।








