म्याग्दीको मंगला गाउँपालिका-५टिकावाङका कर्णबहादुर खत्री गाउँकै एक्ला भेडापालक कृषक हुनुहुन्छ । वैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष खाडी मुलुक मलेसिया, साउदी अरव र युएईमा बिताएर फर्किनुभएका खत्री विगत दुई ददशकदेखि गाउँका पाखापखेरा र वनजङ्गलमा भेडा चराएर बित्ने गरेको छ । बैदेशिक रोजगारीबाट फर्किएपछि ५० हजार लगानीबाट १५ वटा भेडाको पाठा खरिद गर्नुभएका खत्रीको गोठमा अहिले माउ भेडा, भेडाका पाठा पाठी र साँढ गरी ४५ वटा छन् ।
टिकावाङ र चाङ्गा खर्क गाउँका एक्ला भेडापालक खत्रीले भेडा बेचेर बार्षिक ६ लाखसम्म कमाउनुहुन्छ । ‘गाउँमा पुख्यौली पेशा हराउन थालेपछि मैले भेडापालनलाई निरन्तता दिए, दुःख भएपनि कमाईबाट सन्तुष्ट छु’ भेडापालक खत्रीले बेनीअनलाइनलाई भन्नुभयो । प्रयाप्त चरन क्षेत्र भएपनि जनशक्तीको अभावका कारण संख्या बढाउन नसकेको बताउने खत्रीले न्यूनतम १५ हजारदेखि साँढको ५० हजार रुपैयाँसम्म बिक्री गर्नुहुन्छ ।

भेडा खरिद गर्न चरन क्षेत्रमै आउने भएकाले बजारको समस्या नभएको बताउनुभयो । ‘दुःख खप्न सक्नेले भेडापालन गर्न सकिन्छ, अर्काको कमाइलाई हेरेर यो पेशामा लाग्ने सोच बनाउनेहरूलाई टिक्न गाह्यो छ’ कृषक खत्रीले भन्नुभयो । चरन क्षेत्रमा बन्यजन्तुको आक्रमण सहित अनेक समस्या झेल्नुपरेपनि यो पेशालाई नै बाँकी जिवनमा पनि निरन्तरता दिने खत्रीको योजना छ ।

ग्राहक गोठ र चरन क्षेत्रमै आउने भएकाले भेडापालनका लागि चाङ्गा खर्क र तिनचुले क्षेत्रमा प्रयाप्त खर्क रहेको वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री क्षेत्रीले बताउनुभयो । ‘एक्लै भेडापालन धान्नुभएको छ, युवापुस्तालाई भेडापालनमा आर्कषित गर्न वडाबाट आवश्यक प्रोत्साहन गर्नेछौ’ वडा अध्यक्ष खत्रीले भन्नुभयो ।

चाङ्गा खर्क, सिर्कुम, टिकावाङमा भेडापालन, अलैची लगायतका अर्गानिक खेतीको सम्भावना रहेकाले गाउँपालिकाले अनुदानमा समेत प्राथमिकता दिएको छ । ‘कृषि र पशुपालनमा अनुदानका कार्यक्रम छन्, उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिने गरिएको छ’ गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भन्नुभयो ।

अर्मन क्षेत्रमा सुन्तला, अलैची, किबी खेतीमा गाउँपालिकाले अनुदान तथा औजार र प्राविधिक सहयोग गर्ने गरेको छ । पुख्र्यौली रूपमा हुँदै आएको निर्वाहमुखी कृषि र पशुपालनलाई आधुनिकीकरणका लागि समुदायको सक्रियता र सरकारी अनुदान र प्रोत्साहनले समेत गाउँबाट जनशक्ती पलायन रोक्न सकिन्छ।








