---Advertisement---

विद्योदयमा विद्यार्थी-शिक्षकका लागि एक हप्ते योग शिविर

On: November 28, 2025 9:49 PM
Follow Us:

बेनी नगरपालिका-१०, वाखेतस्थित विद्योदय आधारभूत विद्यालयले विद्यार्थी तथा शिक्षकको स्वास्थ्य–सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले कक्षा ६ देखि ८ सम्मका विद्यार्थी र शिक्षकहरूका लागि एक हप्ते योग शिविर सञ्चालन गर्ने तयारी गरेको छ।

‘गरौँ योग, बनौँ निरोग’ भन्ने प्रेरणादायी नारासहित आयोजना गरिएको यो शिविर मंसिर १४ देखि १९ गतेसम्म विद्यालयको खेलमैदानमा बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा पतञ्जली योग समिति बागलुङकी संगठन महामन्त्री तथा अनुभवी योग प्रशिक्षक सिर्जना पन्तले प्रशिक्षण दिनुहुनेछ। पन्तका अनुसार योग अभ्यासले विद्यार्थीहरूमा अनुशासन, आत्मनियन्त्रण र सकारात्मकरूपमा सोच्ने क्षमता विकास गराउनेछ।

“योगले विद्यार्थीलाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक बन्न महत्त्वपूर्ण मद्दत गर्छ,” उहाँले बताउनुभयो। विद्यालयमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरिनु विद्यार्थीलाई रचनात्मक र जीवन–कौशलमा सक्षम बनाउने अवसरका रूपमा लिनुभएको छ।

विद्यालयकी सूचना अधिकारी अमृता जिसी रोकाका अनुसार स्वास्थ्य तथा शारीरिक शिक्षाको अनिवार्य अभ्यासका रूपमा यस पटक प्रयोगात्मक योग, ध्यान तथा स्वस्थ जीवनशैलीसम्बन्धी सिप सिकाइलाई विशेष प्राथमिकता दिइएको छ। “व्यावहारिक सिकाइ, स्वास्थ्य सचेतना र अनुशासन अभिवृद्धिमा यो शिविर अत्यन्त उपयोगी बन्नेछ,” उहाँले बताउनुभयो।

शिविरमा विद्यार्थी र शिक्षकसँगै अभिभावकहरूको समेत सक्रिय सहभागिता सुनिश्चित गरिएको छ। यसले विद्यालय–समुदाय सहकार्य अझ सशक्त बन्ने विश्वास सिसिए को–अर्डिनेटर थकदेवी जुग्जालीले व्यक्त गर्नुभयो। उनका अनुसार विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधी गरी करिब ६० जना सहभागी हुने छन् । विद्यालय समुदाय समन्वय समिति संयोजक सुजन पुनका अनुसार ‘जीवन्त विद्यालय’ अभियानअन्तर्गत सञ्चालन गरिएको यो योग शिविर गुणस्तरीय शिक्षा, जीवन–कौशल र संस्कारयुक्त वातावरण निर्माणतर्फको महत्वपूर्ण कदम हो।

“स्वास्थ्य–उन्मुख कार्यक्रमहरूले विद्यार्थीको शैक्षिक, मानसिक र व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पार्दै विद्यालयलाई अझ आदर्श र अनुकरणीय बनाउने अपेक्षा गरिएको छ,” पुनले बताउनुभयो। विद्योदय आधारभूत विद्यालयले शिक्षासँगै स्वास्थ्य, जीवनशैली र संस्कार विकासमा जोड दिएर विद्यालयलाई सक्षम, सक्रिय र संस्कारित सिकाइ केन्द्रका रूपमा स्थापित गर्ने अभियान निरन्तर अघि बढाइरहेको छ।

Leave a Comment