लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार रघुगंगा गाउँपालिका–५ झिँमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक तथा विद्युतीय हिंसा र बालविवाह न्यूनीकरण विषयक सचेतनामूलक कार्यक्रम गरिएको हो ।

रघुगंगा गाउँपालिका, सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको आयोजना, शिक्षाका लागि राष्ट्रिय अभियान, मानवअधिकार एलायन्स र महिला अधिकारका लागि राष्ट्रिय अभियानको समन्वय एवं सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अभियानअन्तर्गत गाउँपालिकाको ५ नम्बर वडा झिँमा यसवर्ष स्थानीय समुदायलाई लक्षित गरी सचेतनास्वरुप पहिलो कार्यक्रम गरिएको जनाइएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतको समयमा महिलाहरुमाथि धेरै हिंसा हुने गरेकोमा पछिल्लो समय महिला र पुरुष दुवै हिंसामा परिरहेको बताउनुभयो ।

उहाँले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि व्यक्ति, परिवार तथा समुदायस्तरबाट पहल गर्न आवश्यक रहेकोमा जोड दिँदै सचेतनामूलक कार्यक्रमले हिंसा न्यूनीकरणमा सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले विद्युतीय अपराध, यसबाट हुने हिंसा र समाधानका उपाय, मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहास र उद्देश्यमाथि सहजीकरण गर्नुभएको थियो ।
आफ्नो प्रस्तुतीकरणसहित कार्यक्रमको सहजीकरण गर्दै प्रहरी नायव उपरीक्षक थापाले पहिलाको समयमा भौतिक आक्रमणमा उत्रिएर कुटपिटका साथै हिंसा हुने अवस्था गरेकोमा पछिल्लोपटक सामाजिक सञ्जालको प्रयोगबाट हिंसा सम्बन्धी घटनाहरु बढिरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनले यसवर्ष लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम झिँ गाउँबाट सुरुवात गरिएको जानकारी दिनुभयो । उहाँले समुदायस्तरमा सञ्चालन हुने सचेतनामूलक कार्यक्रमबाट हिंसा न्यूनीकरण हुने अपेक्षा समेत गर्नुभयो ।
जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माले महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यबीच एउटाले अर्कोलाई गैरजिम्मेवारपूर्ण तरिकाले गरिने व्यवहार नै लैङ्गिक हिंसा भएकाले यसको रोकथाम गर्न सचेतना फैलाउनुपर्ने बताउनुभयो । रघुगंगा ५ नम्बर वडाका वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले वडा र गाउँपालिकामार्फत गाउँवस्तीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनमा जोड दिइएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षता, गाउँकार्यपालिका सदस्य धनमाया गोतामेको स्वागत र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिव रञ्जना राई, झिँ स्वास्थ्यचौकी इन्चार्ज सुनिता श्रेष्ठसहित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी, आमा समूह, स्थानीयवासी लगायतले सहभागिता जनाएका थिए ।











