हरिकृष्ण गौतम
करिब डेढ महिनाको अन्तरालमा पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट दुई मालबाहक ट्रक म्याग्दी नदीमा खस्यो । दिनहुँ यात्रु बोकेको बस, अन्य सवारीसाधनहरू पहिलोस्थलमा मुस्किलले आवतजावत गर्छन् । साँधुरो सडकमा माथिबाट पहिरोबिनै खसिरहन्छ ढुंगा । यात्रुबाहक बस, ट्रयाक्सी फसेका तस्वीर सामाजिक सञ्जालमा भेटिरहन्छन् । ढुंगा खसेर गाडी र मोटरसाइकललाई लागेका घटना धेरै छन् ।

ठुला सवारीसाधनले सामान ढुवानी गरी पश्चिम म्याग्दी जाँदा सबैभन्दा जोखिम मानिएको फापरखेत पहिरो अस्तब्यस्त छ ।
साँधुरो सडकका कारण यात्रुबाहक बस तथा मालबाहक ट्रक अनियन्त्रितको जोखिम तथा बर्र्खाको समयमा दैनिकजसो अवरुद्ध हुने सडकको बिकल्पमा बेलिब्रीज ल्याउने प्रयासमै सिमित छ । सडकखण्डमा बैकल्पिक मार्ग तथा बेलिब्रिजका लागि दर्जनपटक अनुगमन तथा स्थलगत अवलोकन भएपनि सरकारी संयन्त्रको ढिलासुस्तीले यात्रुले दैनिक सास्ती खेप्नुपरेको छ ।

फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउनको लागि बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज निर्माणका लागि पखेर क्षेत्रमा जग्गा हेरिएपनि हालसम्म बेलिब्रिज नआउँदा दैनिक ज्यानको बाजी राखेर यात्रा गर्नुपरेको छ । बेलिब्रिजका लागि स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिको पहल सफल नहुदाँ पश्चिम क्षेत्रका जनताले हिउँदमा पनि जोखिम मोल्नुपरेको तातोापनीका स्थानीय बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

जिल्लाका पश्चिमी भेगका मंगला,मालिका र धवलागिरि गाउँपालिकाका १९ वटा वडा र बागलुङ जिल्लाका सात गरी २६ वटा वडाका करिव ५१ हजार जनताले प्रयोग गर्ने यो सडक फापरखेत सबैभन्दा असुरक्षित मानिन्छ । मंगला गाउँपालिका–३, पखेर र वडा नं २ स्थित सिमलचौर पुछार जोड्ने गरी म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडकका लागि बजेट समेत विनियोजन भएपनि जेनजी आन्दोलनपछि प्रक्रिया अवरुद्ध भएको निर्वतमान संघीय सांसद खमबहादुर गर्बुजा (खम्वीर) ले बताउनुभयो ।

पहिरोमा वैकल्पिक सडक र म्याग्दी नदीमाथि बेलिब्रिज निर्माणको काम धेरै अगाडी बढेकाले बर्खा अगाडी नै बेलिब्रिज बन्ने गर्बुजाको प्रतिबद्धता छ । बेलिब्रिज बनाउने संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय तथा मातहत महाशाखा र विभागको कागजात जेनजी आन्दोलनमा जलेपछि प्रक्रिया रोकिएको गर्बुजाको भनाई छ ।

२० वर्षअघि २०६२ सालमा सडकको मार्ग खोल्नु अघिदेखिकै पहिरो नरोकिँदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरबाङ सडकमा वर्षायाममा सीधा यातायात सेवा प्रभावित हुने गरेको छ । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ ।








