---Advertisement---

३० बर्षपछि पूरा भयो कालोपत्रेको सपना : अब २० मिनेटमै बेनी-मालढुङ्गा सरर…

On: December 1, 2025 9:22 AM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक बिस्तार अन्तरगत कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। पर्वतको जलजला गाउँपालिका –८ वडाको लस्तीदेखि पर्वतबेनी खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । तीनदशक देखि धुलो र हिलोले आक्रान्त सर्वसाधारण, पर्यटकले १३ किलोमिटरको कालोपत्रे सडकमा सहजै यात्रा गर्न पाउने छन् ।


कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले एपेक्स–खड्का–कृष्ण जेभीसँग विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेपनि निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण स्तरोन्नतिसहित आक्सफाल्ट प्रविधिको कालोपत्र काममा ढिलासुस्ती हुदाँ वर्षामा हिलो, अरुबेला धूलो साप्ती खेप्नुपरेको थियो ।सडक अलपत्र पार्ने ठेकेदारलाई चौतर्फी दबाबपछि कामले गति लिएको हो । बारम्बार म्याद थप्दै जाँदा बल्ल कामले गति लिएको जलजलाका स्थानीय युवा राज आचार्यले बताए ।


दुई लेन सडकमा यात्रुलाई सहज हुने गरी ट्राफिक संकेत सहित अन्य सडकसम्बन्धि सूचना सहित फिनिसिङको कामले समेत सडकको सौन्दर्य झल्किने छ । सडकखण्डलाई सम्पन्न गर्न म्याग्दीका अगुवाको नेतृत्वमा विभिन्न समयमा सडक अवरुद्ध गर्ने देखि डेलिगेसन तथा सांकेतिक विरोध समेत गरेका थिए । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईले मंसीर महिनाभित्र नियमित कालोपत्रको काम सकिने बताए ।


सडकखण्डमा कालोपत्रे बाहेक दुई किलोमिटर २ सय मिटर ढलान समेत गरिएको छ । पर्वतको मालढुङ्गादेखि फर्सेसम्मको करिब ६ किलोमिटर सडक गत वर्ष कालोपत्र र ढलान सम्पन्न भएको थियो । सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रमा घरटहरा हटाउन स्थानीयको असहमतिले १ किलोमिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्छ । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर ०५२ मा ट्याक खुलेको र बि.स ०६८ मा कालोपत्रको काम थालनी गरिएको थियो । बेनी–मालढुंगा सडक कालोपत्रेले नेपाल–चीन कोरला नाकाबाट आउने सामान ढुवानीमा समेत सहज हुन्छ ।

Leave a Comment