म्याग्दीको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषको आयोजनामा आगामी मंसीर २० गते एकदिने निःशुल्क शिविरको आयोजना गरिएका कोषका संस्थापक प्रकाश बानियाँले जानकारी दिनुभयो ।
आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल पोखराको प्राविधिक सहयोगमा हाडजोर्नी रोग विशेषज्ञ डा. भिम सिक्देल सहित ६ जना चिकित्सक र अन्य मेडिकल स्टाप गरी २० जनाले शिविरमा उपचार गर्ने हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषले जनाएको छ ।
जामुनाखर्क माविको प्राङ्गनमा हुने शिविरमा विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको समूहद्वारा निःशुल्क जनरल मेडिसिन, विशेषज्ञ स्वास्थ्य परीक्षण,मिर्गौला सम्बन्धी सम्पूर्ण समस्याहरुको परीक्षण, हाडजोर्नी तथा नशा,पेट, छाती, मुटु, टाउको, सगरप्रेशर, थायराईड सम्बन्धी समस्या, स्त्री रोग,बाल रोग,छाला,नाक, कान, घाँटी, लगायत स्वास्थ्य परामर्श तथा आधारभूत निःशूल्क औषधी वितरण गरिने विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले बताउनुभयो । शिविरमा ई.सीजी, भिडियो एक्स–रे,ल्याबको पनि व्यवस्था रहेको छ । शिविरमा जेष्ठ नागरिक सहित अशक्तलाई उपचारमा प्राथमिकता दिइने छ ।
स्थानीय समाजसेवी हिराबहादुर बानियाँको स्मृतिमा छोराहरु प्रकाश बानियाँ, किरण बानियाँले स्थापित कोषबाट विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्ता वितरण गर्ने गरिएको छ । सोही अवसरमा लायन्स लायन्स क्लब अफ पोखरा युथको समेत सहकार्यमा कार्यक्रम गरिने छ । दुई बर्ष अगाडी पाँचलाख रुपैयाँको अक्षयकोषमार्फत शैक्षिक तथा विभिन्न कार्यमा सहयोग गर्ने गरिएको छ ।










