लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार बेनी नगरपालिका ५ पुलाचौरको सेताढुङ्गामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन रुग्णता परीक्षण, उपचार तथा व्यवस्थापन सम्बन्धी शिविर सञ्चालन गरिएको हो ।

प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवामा ग्रामीण भेगका महिलाहरुको पहुँच वृद्धि गराउने उद्देश्यले समुदायस्तरमा शिविर आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । शिविरमा कुल १ सय ८५ जना महिलाहरुले उपचार सेवा पाएका छन् । तीमध्ये १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर अर्थात् भिआईए परीक्षण गरिएको छ ।
भिआईए परीक्षण गरिएकामध्ये एक जनामा पोजिटिभ भेटिएको छ भने क्यान्सरको शङ्कास्पद २ जना, आङ खस्ने समस्याको ४ जना र पाठेघरको मुखमा मासु पलाएको ६ जनाको उपचार गरिएको बेनी नगरपालिकाको हेल्थ असिस्टेन्ट खगराज निउरेले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पोजिटिभ र शङ्कास्पद पहिचान भएका ३ जनालाई माथिल्लो अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर हेमा छन्त्यालले नेपालको सन्दर्भमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको कारणले गर्दा धेरैले अकालमै ज्यान गुमाउनुपरेको बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरुले लाज मान्ने, स्वास्थ्य संस्थामा जान हिच्किचाउने जस्ता कारणले रोग लुकाएर बस्दा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै गैरहेको बताउँदै समयमै रोग पत्ता लगाएर उपचार गरेमा क्यान्सर जस्तो गम्भीर रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले महिलाहरुमा विशेष गरी पाठेघर र स्तन क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा देखापरेको बताउँदै यसको समयमै उपचार गर्न सकेमा रोगको निदान गर्न सकिने बताउनुभयो । उहाँले विशेषज्ञ स्वास्थ्य शिविरमार्फत महिलाहरुमा पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको पत्ता लगाउनुका साथै अन्य स्वास्थ्य समस्याहरुको बारेमा समेत परामर्श दिइने भएकाले यसबाट ग्रामीण भेगका महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले नियमित रुपमा स्वास्थ्य परीक्षण गरेमा पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लाग्ने बताउँदै यसको समयमै उपचार गरेर रोग लाग्नबाट बच्न सकिने बताउनुभयो । बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले महिला दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरु डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई खुलस्त रुपमा जानकारी गराएर स्वास्थ्यलाभ लिनुपर्ने बताउनुभयो ।

वडाध्यक्ष बानियाँको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रमको जनस्वास्थ्य अधिकृत बालकुमारी पुनले सञ्चालन गर्नुभएको थियो । विशेषज्ञ स्वास्थ्य शिविरमा सेवा लिनको लागि बेनीको ४, ५ र ६ नम्बर वडाको पायक पर्ने स्थानबाट सेवाग्राहीहरु पुगेका थिए ।

शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. छन्त्याल, प्रदेश अस्पताल बेनी म्याग्दीका मेडिकल अधिकृत डाक्टर सतिसकुमार सिंह, बेनी नगरपालिकाका स्वास्थ्यकर्मीहरु मिलन गौतम, सुमित्रा थजाली, डेकमाया केसी, अमृता सुनार, करुणा थापा र अस्मिता क्षत्रीले उपचार तथा परामर्श सेवा उपलब्ध गराउनुभएको थियो ।











