---Advertisement---

धवलागिरीमा वडामै योजना सम्झौता हुँदा समय र खर्च बचत

On: December 2, 2025 7:44 PM
Follow Us:

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेपछि उपभोक्ता समितिका पदाधीकारी र सदस्यहरुलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

घुम्ती शिविर आयोजना गरेर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले वडा कार्यालयमा पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेका हुन् । धवलागिरी गाउँपालिका –४ मुदीमा सोमबार भएको घुम्ती शिविरमा १३ वटा उपभोक्ता समितिसँग योजना सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दुर्गम गाउँबस्तिका बासिन्दालाई सिंहदरवार गाउँमै आएको महशुस गराउन वडामै पुगेर योजना सम्झौता गरिएको बताउनुभयो ।

“गाउँपालिकामा पुगेका उपभोक्ता समितिका पदाधीकारीहरु वडाको सिफारिसमा कुनै त्रुटी भए सच्चाउन र अपुग कागजातका लागि पुनः वडामा फर्कनुपर्दा दुःख हुने भएकाले हामीनै योजना सम्झौताका लागि घुम्ती शिविर लिएर वडा कार्यालयमा पुगेका छौ,” उहाँले भन्नुभयो “वडामै योजना सम्झौता गर्दा उपभोक्तालाई झञ्जट हटेको छ ।”

चालु आर्थिक वर्षका लागि बजेट बिनियोजन भएका योजनाको प्राविधिक टोलीले सर्वेक्षण, लागत अनुमान र नक्सा तयार पारेर उपभोक्ता समिति गठन गरेपछि घुम्ति शिविर मार्फत सम्झौताको ब्यवस्था मिलाएको धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । मुदीमा चालु आर्थिक वर्षका १६ वटा मध्य १३ वटाको समिति गठन र सम्झौता गरि कार्यान्वयन प्रक्रीया थालिएको उहाँले बताउनुभयो ।

योजना सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, प्रशासन र प्राबिधिक शाखाका प्रमुख सहितको टोली वडामा पुगेको छ । चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाको मंसिर महिनाभित्र सम्झौता र चैतसम्म अन्तिम किस्ता भुक्तानी गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो ।

मुदीका साथै मुनामा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने ताकम, मराङ र मल्कवाङमा पनि वडा स्तरमा घुम्ति शिविर आयोजना गरिने उहाँले बताउनुभयो । रु. १० लाख भन्दा बढी बजेटका योजना ठेक्का र रु. १० लाख भन्दा कम बजेटका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एक सय ५० वटा योजना छनौट गरेको छ । सात वटै वडा कार्यालयमा खटिएका प्राविधिकहरुले योजनाको सर्वेक्षण, लागत अनुमान र डिजाइन तयार पारेपछि जनप्रतिनिधीले उपभोक्ता समिति गठन गरेर सम्झौताको तयारी गरेका छन् । वडा कार्यालयमै योजना सम्झौता भएपछि गाउँपालिका जान र आउन हुने समय तथा खर्चको बचत र झञ्जट हटेको धवलागिरी गाउँपालिका–४ को बगर–जेल्तुङ खानेपानी मर्मत योजनाको उपभोक्ता समितिका अध्यक्ष यमप्रसाद घर्तीले बताउनुभयो ।

Leave a Comment