---Advertisement---

पर्यटकलाई स्वागत गर्न आतुर छ तोरीपानी (फोटो फिचर)

On: December 2, 2025 9:24 PM
Follow Us:


हरिकृष्ण गौतम
गाउँबाट हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ । गाउँको शिरानमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठान छ । पौराणिक स्थल पुलहाश्रम जगन्नाथ मन्दिर, डढेकोट दरबार, केभहिल सजिलै जान सकिन्छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी, पर्यटकीयस्थल टोड्के, विश्वकै सातौं अग्लो धौलागिरी हिमालको बेसक्याप सहित रघुगंगा गाउँपालिकाका सुन्दर बस्तीहरूमा जाने धौलागिरी सेञ्चुरी पदमार्गको रुट समेत पर्छ ।


म्याग्दीको टिम्बुरको राजधानी, प्रकृतिले त्यति धेरै सुन्दरता दिएको बेनी नगरपालिका–९ तोरीपानीमा पहिलोपटक पर्यटकलाई स्वागत गर्न घरबास (होमस्टे) सञ्चालन भएको छ । घुम्न आउने पर्यटकलाई लक्षित गरी पाँच घरमा सामुदायिक रुपमा सञ्चालन गरिएको घरबासको मंगलवार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

बेनी नगरपालिकामा पहिलोपटक औपचारिक रुपमा घरबासको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरभित्र पर्यटकीयस्थलमा घरबास सञ्चालनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘घुम्न आउने पर्यटकलाई होमस्टे चाहिन्छ, भकिम्लीमा पनि हामीले होमस्टेका लागि सहयोग गरेका छौ, अन्य पर्यटकीयस्थलमा पनि पर्यटकलाई बोलाउन पहिला बस्ने र खानेको उचित ब्यवस्था आवश्यक छ ।’’


मेयर केसीले होमस्टेमा आउने पर्यटकलाई आयातित नभई अर्गानिक कृषि उपचको स्वाद दिलाउन, राम्रो सत्कार गर्न सकेमा पर्यटक भित्राउन सजिलो हुने बताउनुभयो । इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएकाले पर्यटकको चापसँगै गाउँमा थप होमस्टे विस्तार गरिने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताउनुभयो । सयपत्री सामुदायिक घरवास समूहलाई दुई लाख र पाँच घरलाई ७० हजारका दरले आर्थिक सहयोग समेत उपलब्ध गराएको छ । घरबासमा आउनेलाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रर्दशनीका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री समेत गरिने छ ।


होमस्टे सञ्चालन अगाडी इको हिमाल काठमाण्डौले उत्कृष्ट घरबास कार्यक्रम भएका स्थानहरुको भ्रमण सहित परिकार बनाउने तालिम सञ्चालन समेत गरेको थियो । तोरीपानीका जुना खत्री, रश्मी चोखाल, सुजता चोखाल, युव गिरी र भगवान श्रेष्ठको घरमा घरबास कार्यक्रमको मापदण्ड अनुसारको संरचना तयार गरिएको इको हिमालका निर्देशक नारायण ढकालले जानकारी दिनुभयो । घरवास सुभारम्भ कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले म्याग्दीका हरेक बस्ती पर्यटकीयस्थल भएकाले तोरिपानीको होमस्टेले मौलिकता जोगाउँदै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, इको हिमाल अष्ट्रियाका अध्यक्ष कुर्ट लुगर, वडा अध्यक्ष चक्र केसी, डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटा,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले होमस्टेमा लगानी अनुसारको प्रतिफल तथा बजारीकरणमा सहयोगको प्रतिबद्धता समेत जनाउनुभएको थियो । होमस्टे उद्घाटन कार्यक्रममा पुगेका पर्यटकलाई अतिथिलाई स्थानीयबासीले भब्य स्वागत गरेका थिए । समूहका अध्यक्ष खत्रीको अध्यक्षता, इब गिरीको स्वागत र उषा पाईजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Comment