---Advertisement---

बेनी नगरपालिका सेमिफाइनलमा प्रबेश

On: December 2, 2025 10:00 PM
Follow Us:

बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मंगलबार कटारी नगरपालिका उदयपुर र बेनी नगरपालिका म्याग्दी विययी भएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । प्रतियोगितामा बागलुङ नगरपालिका (निलो) र पैयुँ गाउँपालिका पर्वत सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

मंगलबार भएको पहिलो खेलमा विभागिय टिम विभागिय टिम गण्डकी प्रदेश प्रहरीलाई पराजित गर्दै उदयपुरको कटारी नगरपालिका अन्तिम चारमा प्रवेश गरेको हो । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । कटारीले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।

टाइब्रेकरमा कटारीका गोलकिपर सागर मगर नायक बने । मगरले प्रहरीका सन्दिप तामाङ र अंकित गुरुङको प्रहार बचाएका थिए । टाइब्रेकरमा कटारीको लागि डिकेस लामा, गणेश भुजुल, पवन पाख्रिन र हेमन्त भुजेलले गोल गरे । प्रहरीको लागि सुमित श्रेष्ठ र सरोज टिटुङले गोल गरे ।

कटारी नगरपालिकाले बुधबार आयोजक बागलुङ नगरपालिका (निलो)सँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

यस्तै मंगलबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक बागलुङ नगरपालिका (सेतो)लाई १–२ गोलअन्तरले पराजित गर्दै बेनी नगरपालिका म्याग्दी अन्तिम चारमा प्रवेश गरेको छ । खेलको पाँचौं मिनेटमा बेनीका बिनम थजालीले गोल गर्दै बेनीलाई अग्रता दिलाएका थिए । बिनमले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

बेनीका बिनमले खेलको ७१ औं मिनेटमा व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गरे । बिनमले डिबक्समा डिफेन्डर र किपरलाई बिट गर्दै गोल गरेका थिए । बागलुङको लागि खेलको ७६ औं मिनेटमा बिशाल घलानले गोल गरे । निर्धारित समयमा बागलुङले गोलको लागि सुन्दर मौका पाएपनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बेनीले बुधबार फाइनल प्रवेशको लागि पर्वतको पैयुँ गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ । 

Leave a Comment