३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्ग संघ म्याग्दीले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा अपाङ्ग संघ कास्की विजय भएको छ । मंगलबार खुल्लामञ्च बेनीमा आयोजित प्रतियोगितामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेत्रहीन क्रिकेट संघ म्याग्दीले जितका लागि २० ओभरमा ७४ रनको लक्ष्य प्रस्तुत गरेकोमा अपाङ्ग संघ कास्कीले ६ विकेट गुमाएर जित हासिल गरेको थियो ।

प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले ब्याटिङ र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले बलिङ गर्नुभएको थियो । प्रमुख अतिथि श्रेष्ठले शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुका लागि खेलकुदबाट गर्न सक्ने सम्पूर्ण सहयोगका लागि प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतम, बेनी नगरपालिका वडा नं ७ का वडा सदस्य विश्वास श्रेष्ठ लगायतको उपस्थितिमा बिजेता र उपविजेतालाई क्रमश १२ हजार, ६ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

अपाङ्ग संघ म्याग्दीकी अध्यक्ष गोरी दर्जीले अपाङ्गता भएका व्यक्तिका खेलकुदका सामाग्रीहरूको आवश्यकता रहेको बताउँदैअपाङ्गता प्रति भएको पारिवारिक तथा सामाजिक विभेदको न्यूनीकरणका लागि समेत निरन्तर रचनात्मक कार्य गर्ने बताउनुभयो । दिवसको अवसरमा म्याग्दीको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिएको थियो ।

अपाङ्ग संघ म्याग्दीका सहसचिव बिशाल बिकले अपाङ्गता भएका व्यक्तिहरूको लागि खेलकुद महत्वपूण भएकाले म्याग्दीमा नियमित क्रिकेट खेल्न खेलकुद सामाग्री र खेल पोसाक, क्रिकेट सामाग्री उपलब्ध गराउन सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको थियो । म्याग्दीमा अपाङ्ग संघ म्याग्दीले रचनात्मक कार्यमार्फत क्षमता विकास सहित विभिन्न कार्य गर्ने गरेको छ ।













