‘स्वस्थ पशु समृद्ध किसान, गाईभैँसीमा थुनेलो रोग रोकथाम अभियान’ भन्ने नारासहित मङ्गलवार सिङ्गामा व्यावसायिक गाईभैँसीमा थुनेलो रोग परीक्षण तथा उपचार कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दीको आयोजनामा बेनी नगरपालिका ४ सिङ्गामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सिङ्गा क्षेत्रका ३० जना किसानहरुले पालेका १ सयभन्दा बढी गाईभैँसीमा थुनेलो रोग परीक्षण गर्नुका साथै उपचार गरिएको थियो । सिएमटी विधिमार्फत दुधको परीक्षण गरी देखिएका समस्याहरुको उपचार गरिएको थियो भने सिङ्गामा गाईभैँसी फर्मको स्थलगत अनुगमन गर्नुका साथै ठूलोखोलामा किसानको गोठमै पुगेर गाईको पाठेघर संक्रमणको समेत उपचार गरिएको थियो ।
थुनेलो रोग परीक्षण तथा उपचार कार्यक्रममा किसानले आ–आफ्नो घरबाट ल्याएका गाईभैँसीको दुधको सिएमटी विधिको प्रयोग गरेर पशुमा थुनेलो रोग भए नभएको पत्ता लगाई उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख गोपाल गिरीले गाईभैँसीले दिने दुध मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले त्यसमा थुनेलो भए नभएको रोग पत्ता लगाएर उपचार गरी पशु चौपायाको उत्पादन गुणस्तरीय बनाउने र किसानलाई राहत दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

किसानहरुले ल्याएको गाईभैँसीको दुधमा पोजिटिभ र नेगेटिभ देखिएकाले लक्षण अनुसारको पशुमा उपचार गर्नुका साथै किसानहरुलाई औषधीहरु पनि उपलब्ध गराइएको बताउँदै कार्यालय प्रमुख गिरीले थुनेलो देखिने र नदेखिने दुई प्रकारको हुने भएकाले सोको उपचार गरिएको बताउनुभयो । उहाँले कार्यक्रमबाट किसानले पालेका पशु चौपायाको अवस्था, उत्पादनको गुणस्तर, बाली लागेको, नलागेको र प्रजनन् क्षमताको बारेमा समेत उपचार तथा किसानलाई परामर्श सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

बेनी नगरपालिका वडानम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले भेटेरिनरी अस्पताल म्याग्दी र वडा कार्यालयबाट किसानहरुले पालेका गाईभैँसीमा थुनेलो सम्बन्धी उपचार कार्यक्रमले स्थानीय किसानहरु लाभान्वित भएको बताउनुभयो । उहाँले ग्रामीण भेगमा हुने यस्ता कार्यक्रमले किसानलाई राहत मिल्नुका साथै उत्पादनमा समेत वृद्धि हुने बताउँदै वडा तथा नगरपालिकामार्फत पनि किसानहरुलाई आवश्यक औषधी उपचार तथा आवश्यक सेवासुविधाहरु उपलब्ध गराइएको बताउनुभयो ।

बास्कुनाका व्यावसायिक तथा अगुवा किसान तिलक गुरुङले गाईभैँसीमा हुने थुनेलो रोगको उपचार शिविर अत्यन्तै राम्रो कार्यक्रम भएको बताउँदै कार्यक्रमबाट पशु चौपायाको उपचार हुनुका साथै दुधजन्य उत्पादन बढ्ने अनुभव सुनाउनुभयो । उहाँले पहिलोपटक सिङ्गाको दुध सङ्कलन केन्द्रमा दुधको परीक्षणमार्फत पशुमा थुनेलो रोगको उपचार गरिएको बताउँदै अगामी दिनमा पनि किसानलक्षित अन्य थप कार्यक्रम तथा शिविरहरु निरन्तर सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका सूचना अधिकारी सुभाष रेग्मीले ग्रामीण भेगमा किसानहरुले पालेका अधिकांश गाईभैँसीमा थुनेलोको समस्या देखिने गरेको बताउँदै त्यसको उपचारका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सिएमटी प्रविधिमार्फत गाईभैसीको दुध परीक्षणसहित थुनेलोको उपचार गरी किसानहरुलाई परामर्श सेवा र औषधीहरु उपलब्ध गराइएको बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले विभिन्न समयमा किसानहरुलाई लक्षित गरेर तालिम, गोष्ठी र शिविरहरु आयोजना गरिरहेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा पछिल्लो समय किसानहरुले व्यासायिक रुपमा गाईभैँसीपालन, भेडाबाख्रापालन र कुखुरापालन गर्दै आइरहेका छन् । कार्यक्रममा कार्यालय प्रमुख गिरीसहित सूचना अधिकारी रेग्मी, पशु स्वास्थ्य प्राविधिक खगेन्द्र विक र बेनी नगरपालिकाको पशु शाखाका प्रमुख डा. आशिष सापकोटासहितको टोलीले उपचार तथा परामर्श सेवा दिएको थियो ।











