म्याग्दीमा २२ वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नामका ४२ बर्षिय खमबहादुर थजालीलाई बेनी नगरपालिका–८, कालिपुलबाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । बि.स २०६० सालमा कात्तिक ६ गते दग्ना गाउँका २४ वर्षीय धनराम तिलिजाको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको हो । तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा किटानी जाहेरी परेको थियो ।
जाहेरीमा उल्लेख भएकामध्ये थजाली सहित तीन जना घटना भएको दिनदेखि नै फरार थिए । मृतक तिलिजाको घर घेरा हालेर खुकुरी, लाठी र चिर्पट प्रहार गरेर तिलिजाको हत्या गरेको आरोपमा यसअगाडी दुई जनालार्ई प्रहरीले नियन्त्रणमा लिएर कारागार चलान गरिसकेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।जिल्ला अदालत म्याग्दीले २० जनाविरुद्ध नै २०६३ चैत ३० गते अभियुक्त थजालीलाई १९ बर्ष ७ महिनाको कैद फैसला सुनाएको थियो ।
उक्त घटनामा संलग्न रहेकाहरु जिल्ला अदालतको फैसला बिरुद्ध २०६८ जेठ ११ गते पुनरावेदन अदालत पुगेका थिए ।पुनरावेदनले २०६८ मंसिर २६ गते जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले पनि २०७२ असार ११ गते जिल्ला र पुनरावेदनकै आदेश सदर गरेको थियो । उक्त घटनामा २०६० चैत ७ गते राती माओवादीलेसदरमुकाम बेनीमा आक्रमण गरेपछि जेलमा रहेका अधिकांश कैदीबन्दी भागेका थिए । पछिल्लो समय प्रहरीले २० बर्ष पुराना घटनामा संलग्नलाई धमाधम पक्राउ गरेको छ ।
बेनी नगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्री सहित बन्चरो प्रहारबाट हत्या गरी फरार भएका जिल्लाको धवलागिरी गाउँपालिका–३, बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढालाई २५ बर्षपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बि.स २०५७ साल कात्तिक २८ गतेका दिन धवलागिरी–३ बस्ने (तत्कालिन अवस्थामा २४ वर्षका) गर्बे पाइजा मगरलाई घरको पिंढीमा बाँधेर घरेलु हतियार बन्चरो क्रुर यातना दिई निर्ममतापूर्वक हत्या गरी बु्ढाद्वय फरार रहेका थिए ।










