जीवन कहिलेकाहीँ केवल चुनौती मात्र होइन, हामीलाई अँध्यारोको बीचमा छोड्ने एक भूकम्प जस्तै हुन्छ। हामी दौडिरहेका छौं सपना, आशा, काम, जिम्मेवारी सबै बोकेर, तर कहिले कहाँ पुग्ने थाहा छैन। हरेक बिहान उठ्दा आँखा खोल्दा, भित्री डर, भित्री पीडा, भित्री खालीपनले हामीलाई चिथोरेर हाँस्छ। संसार भन्छ “धैर्य गर, साहस गर,” तर उनीहरूले देख्दैनन् हामी भित्रको रात, जहाँ हरेक सास तान्दा हाम्रो आत्माले प्रश्न सोध्छ, “कति समयसम्म पर्खिरहनु पर्छ? कति चोट सहिरहनु पर्छ? कहिले मेरो मेहनत, मेरो समय, मेरो विश्वासको मूल्य बुझिनेछ?”
हामी हिँडिरहेका छौं, तर बाटो कहिले सही हुन्छ भन्ने थाहा छैन। हामी प्रयास गरिरहेका छौं, तर परिणाम कहिले हाम्रो हातमा पर्छ भन्ने निश्चित छैन। हरेक कदममा अवरोध, हरेक निर्णयमा डर। हरेक सपना, हरेक योजना, हरेक भरोसा यी सबैसँग खेल भइरहेको छ। हाम्रो मन डरले भड्किरहेको छ, तर मुटु भित्रै हिम्मतको आगो बलिरहेको छ। हामी भित्रै सोध्छौं “के मैले पर्याप्त प्रयास गरें?” “के मेरो संघर्षले अर्थ राख्नेछ?”
तर हामी हार मान्दैनौं। हामी चुपचाप रोइरहन्छौं, तर हाम्रो आँसु कमजोरी होइन, यो साहसको प्रमाण हो। हरेक रातको पीडा, हरेक हताशाको आँसु, हरेक चोटले हामीलाई अझ बलियो बनाउँछ। हाम्रो डरले हामीलाई नथिचोस्, हाम्रो अनुभवले हामीलाई उठाओस्। भित्रको आवाज सधैं फेरी भन्छ “अझै बाँकी छस्। अझै प्रयास गर्न सक्छस्। अझै उठ्न सक्छस्।”
जीवनले कहिले सजिलो बाटो दिँदैन, तर हामी आफैंले बाटो बनाउँछौं। हामी आफैंले निर्णय गर्छौं। हामी आफैंले अँध्यारोलाई पार गर्छौं। हरेक चोट, हरेक संघर्ष, हरेक रातले हामीलाई भन्न चाहन्छ “तिमी कमजोर छैनौ। तिमी अझ बलियो छौ।”
आज हामी थाकेका छौं। आज हामी डराएका छौं। आज हामी पीडामा छौं। तर भोलि हामी फेरि उठ्नेछौं। भोलि हाम्रो साहस, हाम्रो विश्वास, हाम्रो मेहनत, हाम्रो प्रेम यी सबैले भविष्यलाई फरक बनाउनेछ। हामी केवल जीवित छैनौं। हामी लडिरहेका छौं। हामीले घाउ पाए पनि, हामी अघि बढिरहेका छौं।
हामी मानव हौं। कमजोर देखिन सक्छौं, तर हाम्रो मन र मुटु अटुट छ। आजको पीडा हामीले भोग्छौं, तर भोलिको कथा हरेक आँसु, हरेक चोट, हरेक कठिन रातको विजय बन्नेछ। हामी उठ्नेछौं, फेरि सास फेर्नेछौं, फेरि हाँस्नेछौं, फेरि प्रेम गर्नेछौं।
किनकि जीवनले हामीलाई प्रश्न सोध्छ, चुनौती दिन्छ, पीडा दिन्छ। तर उत्तर लेख्ने अधिकार हामीसँग छ। बाटो बनाउने अधिकार हामीसँग छ। भविष्य आफैं आकार दिने हिम्मत पनि हामीसँग छ।
हामी जित्नेछौं,
हामी बाँच्नेछौं,
हामी अँध्यारोलाई उज्यालोमा बदल्नेछौं।
✍🏻 अस्मिता आचार्य














