मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा पुर्व विद्यार्थी मनकुमार जुग्जालीको पहलमा ७० हजारभन्दा बढी सहयोग गरिएको छ । क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि पूर्व विद्यार्थी मञ्चका सदस्य समेत रहनुभएका जुग्जालीको पहलमा ७३ हजार ३४२ रुपैयाँ सहयोग गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम थापाले बताउनुभयो ।
क्याम्पसमा आयोजित एक कार्यक्रममा पूर्व विद्यार्थी जुग्जालीले १५ हजार ५ रुपैयाँ, क्याम्पसका पूर्व सहायक प्राध्यापक रमेश पौडेल ११ हजार १११, पूर्व विद्यार्थीहरु नारायण शेरपुञ्जा ११ हजार १११ रुपैयाँ, कृष्ण पुन १० हजार ५५५ रुपैयाँ, गणेश सुवेदी .१० हजार ५ रुपैयाँ,बालकुमारी खत्री पाँच हजार रुपैयाँ र सारदा मावि छिस्बाङका शिक्षक प्रकाश खत्री .१० हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएकोहो । पश्चिम म्याग्दीको ’शैक्षिक हब’ को रुपमा विकसित हुदै गएको क्याम्पसको अभियानबाट उत्साहित भएका उक्त सहयोग गरिएको सहयोगदाताको भनाई छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पसका संरक्षक एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसको जग्गा खरिद, शैक्षिक तथा भौतिक गतिविधिमा उल्लेखनीय सहयोग भइरहेको बताउनुभयो । क्याम्पसले पहिलो चरणमा गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियानमालाई निरन्तरता दिइरहेको छ।
समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्व कालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।
क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ । पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।











