म्याग्दीको बेनी नगरपालिका-६,अर्थुङ्गेमा शनिबार सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषको आयोजनामा जामुनाखर्क माध्यमिक विद्यालयको प्राङ्गनमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २५ बिरामी लाभान्वित भएका हुन् ।
आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल पोखराको प्राविधिक तथा लायन्स क्लव अफ पोखरा युथको सहयोगमा आयोजित शिविरमा इको २ सय जना, अल्ट्रासाउन्ड १ सय १४ जना,सुगर परीक्षण ८१ जना, पिसाप परीक्षण ६५ जना, हाडजोर्नी तथा नसा रोग सम्बन्धि ६२ जना, मृगौला, पत्थरी सम्बन्धि समस्या भएका ४९ जना लगायत स्त्री रोग,बाल रोग,छाला,नाक, कान, घाँटी, लगायत स्वास्थ्य परामर्श तथा आधारभूत निःशूल्क औषधी वितरण गरिएको विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले बताउनुभयो ।

‘पोखराको सेवा गाउँमै पाइयो, केही बिरामीको रोग पहिचान भएको छ, शिविरले धेरै रोगीहरूलाई राहत मिलेको छ’ प्रअ ढुंगानाले भन्नुभयो । शिविरमा विशेषज्ञ डा. भिम सिक्देल, डा नवराज पौडेल, डा. अमृत केसी, डा. राजेन्द्र पौडेल लगायत चिकित्सक र अन्य मेडिकल स्टाप गरी २० जनाले शिविरमा बिरामीलाई सेवा प्रदान गरेको कोषका संरक्षक किरण बानियाँले बताउनुभयो ।

‘बालबालिकादेखि बृद्धबृद्धालाई सेवा दिन पाउँदा निकै उत्साहित छु, हामीले आगामी दिनमा पनि कोषबाट समुदायस्तरमै विभिन्न कार्यक्रम गर्नेछौ ।’ शिविरमा रोग पहिचान भएर थप उपचारका लागि जानुपर्ने अवस्थामामा आर्थिक अभाव भएका बिरामीलाई समेत सहयोग गरिने कोषका संरक्षक सदस्य प्रकाश बानियाँले बताउनुभयो ।

शिविरमा बेनी नगरपालिकाका विभिन्न वडाका साथै छिमेकी जलजला गाउँपालिकाको पर्वत बेनी लगायतका क्षेत्रबाट समेत बिरामी चेकचाँच गर्न आएका थिए ।

शिविरमा चिकित्सकले खानपिन सहित विभिन्न समस्या भएका बिरामीलाई परामर्श समेत प्रदान गरिएको कोषले जनाएको छ । शिविरमा वडा अध्यक्ष कृष्णसिङ बानियाँले रोग पालेरै बसेका बृद्धबृद्धा तथा विभिन्न समस्याले अस्पतालसम्म जान नसक्ने बिरामीलाई बरदान सावित भएको बताउनुभयो ।

विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरबाट सदरमुकाम बेनी तथा पोखरा जानुपर्ने धेरै बिरामीलाई राहत मिलेको स्थानीय बृद्ध बलबहादुर खत्रीले बताउनुभयो ।
शिविरमा स्थानीय यूवा तथा विद्यार्थीले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । पूर्व सरकारी कर्मचारी समेत रहनुभएका हिराबहादुर बानियाँको स्मृतिमा तीनबर्ष अगाडी स्थापना गरिएको कोषबाट पहिलोपटक शिविरको आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुबेदीले जानकारी दिनुभयो ।











