---Advertisement---

बेनीमा मधुमेह सम्बन्धी सचेतना कार्यक्रम, ४५ जनाको सुगर परीक्षण

On: December 7, 2025 4:11 PM
Follow Us:

 लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिवार म्याग्दीको सदरमुकाम बेनीमा मधुमेह सम्बन्धी सचेतनाको कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दी, लायन्स क्लब अफ बेनी पिस सिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलले क्लबमार्फत दोस्रो शताब्दीमा शिक्षा, स्वास्थ्यलगायत सचेतनाका कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले बेनीमा लायन्स क्लब अफ बेनी पिस सिटीसहित अन्य संघसंस्थाहरुले आयोजना गरेको स्वास्थ्यको कार्यक्रम अत्यन्तै सराह्रनीय रहेको बताउँदै मधुमेहलगायत रोगबाट बच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै डाक्टर लक्ष्मी पन्थीले मधुमेह अर्थात् सुगर रोगबाट बच्नको लागि जीवनशैली अन्तर्गत खानपान, व्यायाम र नियमित रुपमा स्वास्थ्य चेकजाँचलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सुगर तथा प्रेसर जस्ता नसर्ने रोगबाट बच्नलाई हप्तामा कम्तीमा पनि १ सय ५० मिनेट हिँडडुल गर्नुपर्ने बताउँदै विशेष गरी खानपानलाई ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा डाक्टर पन्थीले मधुमेह रोग, यसका लक्षणहरु, समाधानका उपाय तथा यु क्यान सेभ फाइप लाइभ्सको बारेमा समेत सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रमको अवसरमा सहभागी ४५ जनामा सुगर रोगको परीक्षण गर्नुका साथै आवश्यक परामर्श सेवा समेत प्रदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरु सुमित्रा थजाली, रुमाकुमारी खत्री र मुना खत्रीले सुगर परीक्षण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ म्याग्दीका अध्यक्ष रुमाकुमारी खत्रीले आगामी दिनमा पनि विभिन्न संघसंस्थाको सहकार्यमा स्वास्थ्यका सचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

आयोजकहरुको तर्फदेखि कार्यक्रमका प्रमुख अतिथि खरेल, सहजकर्ता डा. पन्थी र स्वास्थ्यकर्मी मुना खत्रीलाई मायाको चिनो तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । स्वास्थ्यकर्मी महासंघ म्याग्दीका अध्यक्ष खत्रीको अध्यक्षता र मिलन म्याग्दीका सचिव बालकुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लबको एरिया कोअर्डिनेटर अर्जुन पौडेलले स्वागत गर्नुभएको थियो ।

मधुमेहको सचेतना सम्बन्धी कार्यक्रममा परीक्षण गर्नको लागि नेशनल ड्रग सेन्टर पाण्डे हेल्थ क्लिनीक एण्ड ल्याव सेवा हस्पिटलचोक बेनीमार्फत आवश्यक किटसहित सामग्रीहरु सहयोग भएको थियो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रिक पिआरओ इनचिफ ऋषि गिरी, बेनी पिस सिटीका निवर्तमान अध्यक्ष वीरेन्द्र श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

Leave a Comment