म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन ‘अपर म्याग्दी’ जलविद्युत आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलब २५ बनाइएको प्रर्वद्धक कम्पनी हाइड्रो इम्पायर प्रा.ली.ले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलब २५ मेगावाट क्षमता बढाइएको जानकारी दिनुभयो ।
“सुरुङको आकार, हेड (विद्युतगृह र बाँधको उचाई), टर्वावाईनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ,” उहाँले भन्नुभयो “थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।”
यसअघि तीन सय १४ मिटर अग्लो रहेको हेडलाई बढाएर तीन सय १७ मिटर र खोलाबाट सुरुङमा हालीने पानीको मात्रा १४ दशमलब ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलब २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ । अनुमानित लागत रु. आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताउनुभयो ।
धवलागिरी गाउँपालिका –४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युतगृह निर्माण शुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । वि.स. २०८१ पmागुन महिनादेखि तीन हजार आठ सय ३८ मिटर लामो सुरुङ निर्माण शुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट हालसम्म दुई हजार चार सय मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ ।

आउटलेटबाट विद्युतगृहसम्म आठ सय ४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ् । यो आयोजना रन अफ द रिभर (नदी प्रभाहमा आधारित) हो । आयोजनाको सिभिल ठेकेदार आर.एस.सी. आर.जे. जेभी र माछापुच्छ्रे इन्जिनियरीङ प्रा.ली. रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यको लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ ।
हाइड्रोमेकानिकल कार्यको लागि माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रा.ली. परिचालित भएको छ । वित्तीय व्यवस्थापनको लागि सिद्धार्थ बैङ्कको अगुवाइमा नेपाल एस.बि.आई. बैंक, सिटिजन्स बैङ्क इन्टरनेशनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका छन् ।
७० ः ३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ् । यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको डाडाखेत सवबस्टेशन मार्फत केन्द्रिय ग्रिडमा जोडिनेछ् । १० किलोमिटर लामो एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन निर्माणको तयारीमा छ ।
शिवरात्रीखोला देखि बाँध निर्माण स्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले घवलागिरी गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पु¥याउन सहयोग गरेको छ । वि.स. २०८३ चैत महिनासम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो ।
क्षमता अभिवृद्धिको प्रक्रीया अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाहरुको सुझाव संकलन गर्न शनिबार धवलागिरी गाउँपालिका–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सलुसन्स प्रा.ली.का प्रबन्ध निर्देशक शंकर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्युनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्था अनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमको लागि रु. छ करोड ३४ लाख ९१ हजार बजेट प्रस्ताव गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष यामबहादुर घर्ति, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लवका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योती मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिनुभएको थियो ।
पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उहाँहरुले सुझाव दिनुभएको थियो । हाइड्रो इम्पायरका सञ्चालक पूर्णबहादुर पुनले प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाको सुझावलाई प्रतिवेदनमा समेटेर कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।








