---Advertisement---

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

On: December 8, 2025 9:54 AM
Follow Us:

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला)सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

करिव १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ । यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २० देखि २५ मिनेटमा छोटिएको बताउनुभयो । 

“पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङहँुदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ,” उहाँले भन्नुभयो “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ ।” 

जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्णयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । “बाँकी रहेको ठाउँमा पनि सडक स्तरोन्नतिको कामले छिट्टै पूर्णता पाउने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो,“सडक स्तरोन्नतिले पूर्णता पाएपछि सार्वजनिक यातायात र ढुवानीको भाडादर पनि समायोजन हुनेछ् ।” 

 यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक विसं २०६८ मा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो । 

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका– ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक दुई लेनको बनाएर कालोपत्र गर्न विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो । सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए । 

यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर तीन सय मिटर कालोपत्र र दुई किलोमिटर दुई सय मिटर ढलान भएको थियो । लस्ती–बेनी खण्डको छ किलोमिटर पाँच सय मिटर सडक यही मङ्सिर पहिलो सातादेखि कालोपत्र गर्न थालिएको थियो । लस्ती, केराबारी, लामाखेत खण्डमा कालोपत्र सकिएको छ । स्थानीय प्रशासनसँग समन्वय गरेर मङ्सिर १ देखि २० गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द गरेर कालोपत्र गर्ने कामलाई सहज बनाइएको थियो । लस्ती–फर्से र मिलनचोक बजारभित्र करिब एक किलोमिटर दुई सय मिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इञ्जीनीयर जीवन चौधरीले बताउनुभयो । 

वारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक/एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ । वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरुको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागार्इंले बताउनुभयो । रासस

Leave a Comment