म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा आइतबार सदरमुकाम बेनीमा आपत्कालीन अवस्थामा जीवन बचाउने तालिम र पिस एजुकेशनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप अन्तर्गत प्राध्यापक र विद्यार्थीहरुको ज्ञान, सिप तथा क्षमताको विकास गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा यू क्यान सेभ फाइप लाइभ्सका संस्थापक तथा अभियन्ता एवं टिपिआरएफ, द प्रेम रावत फाउण्डेशनको पिस एजुकेशन प्रोग्रामका सहजकर्ता डाक्टर लक्ष्मी पन्थीले सहजीकरण गर्नुभएको थियो । हातेमालो अभियान नेपालका अध्यक्ष समेत रहनुभएकी डा. पन्थीले ३ देखि ६ मिनेटको समयमा जीवनमा आइपर्ने घटनाहरुमा मानिसलाई कसरी बचाउने, सासमार्ग रोकिएमा, हृदयघातको सुरु र अन्तिमको अवस्था, बेहोस, रक्तस्राव तथा सिपिआर गर्ने विषयमा प्रयोगात्मक अभ्यासको साथमा सहजीकरण गर्नुभएको थियो ।
सहजीकरणको क्रममा डा. पन्थीले घाँटीमा खानेकुरा अड्किएमा त्यसलाई निकाल्ने, बेहोस भएमा उपचार तथा उद्धार एवं सिपिआर गर्ने तरिका र उपचार विधिबारे प्रयोगात्मक अभ्यास समेत गरेर देखाउनुभएको थियो । कार्यक्रममा सहभागी क्याम्पसका प्राध्यापक, विद्यार्थीहरु र डा. पन्थीबीच अन्तत्र्रिmया तथा छलफल समेत भएको थियो । सोही अवसरमा प्रेरणादायी कार्यक्रम अन्तर्गत द प्रेम रावत फाउण्डेशनको पिस एजुकेशन प्रोग्रामको अभिमुखीकरणसहित भिडियो पनि प्रस्तुत गरिएको थियो । पिस एजुकेशन कार्यशालामा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु जोडिनको लागि माग गरिएको छ भने डा. पन्थीले फाउण्डेशनसँग आवश्यक सहकार्य तथा समन्वय गरेर कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख श्रीधर सुवेदीले आपत्कालीन अवस्थामा मानिसको जीवन कसरी बचाउन सकिन्छ भनेर ज्ञान, सिप हासिल गरिएको हुँदा आगामी दिनमा यस कार्यक्रमबाट मानवको जीवन बचाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले आपत्कालीन अवस्थामा कसरी मानव जीवन बचाउन सकिन्छ भन्ने विषयको तालिम निकै प्रभावकारी रहेको बताउँदै सहजकर्ता डा. पन्थीले निकै सहज तरिकाले ज्ञान, सिप प्रदान गरेकाले त्यसलाई व्यवहारमा कार्यान्वयन गरिने बताउनुभयो । पिस एजुकेशन कार्यक्रममा पहिलो चरणमा क्याम्पसका प्राध्यापक तथा कर्मचारी र दोस्रो चरणमा विद्यार्थीहरु सहभागी हुने क्याम्पस प्रमुख सुवेदीको भनाइ छ ।

कार्यक्रमका प्रमुख सहजकर्ता डा. पन्थीले म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा पाँचवटा आपत्कालीन अवस्थामा कसरी मानिसको जीवन बचाउने र पिस एजुकेशनको बारेमा सहजीकरण गराइएको जानकारी दिनुभयो । क्याम्पस प्रमुख सुवेदीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु गरेर १ सय ५० जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले विभिन्न समयमा शिक्षा, स्वास्थ्य, सामाजिक, सचेतनासम्बन्धी र विज्ञान तथा प्रविधिलगायत विविध विषयहरुमा तालिम र गोष्ठीसहितका कार्यक्रमहरु सञ्चालनमा प्राथमिकता दिएको छ । वि.सं. २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म ८ सयजना भन्दाबढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् ।












