लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्ला मञ्चमा सम्पन्न दोस्रो लायन्स अन्तर मावि स्तरीय छात्रा फुटबलको उपाधी न्यू वेष्ट पोइन्ट आमाविलाई दिलाउन सरिता पर्टेले दोस्रो हाफपछि गरेको एक गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा प्रकाश माविलाई १–० ले पराजित गदैं च्याम्पियन बनेको वेष्ट पोइन्टलाई दोस्रोपटक लायन्स कप जिताउन प्रमुख भूमिका खेलेकी स्ट्राईकर सरिताले प्रतियोगितामा सर्वाधिक १० गोल मात्रै गरिनन् फाइनलमा समेत म्यान अफ दी म्याच घोषित भइन् । प्रकाश माविको बलियो डिफेन्सलाई पन्छाउन सरिताको एट्याकिङसँगै कोच दिपेन राईको टिम वर्कले डिफेन्डिङ च्याम्पियन वेष्ट पोइन्टले हारलाई पन्छाएर लगातार विजेता बन्यो ।
उद्घाटन खेल देखि नै उत्कृष्ट लयमा रहेकी सरिता प्रतियोगितामा सहभागि १० विद्यालयका खेलाडीमध्ये खेल प्रतिभाको आधारमा टप वान भित्र नलिने हो भने अपुरो हुन्छ । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँकी १२ बर्षिया सरिता प्रतियोगितको सर्वाधिक गोलकर्ताको सूचीमा समेत परिन्। कक्षा ३ मा विद्यालयमा प्रवेश गरेकी सरिताको फुटबलप्रतिको रूची र विद्यालयका खेल शिक्षक राईको नजरमा परेपछि अहिले उनको खेलसँगै परिचय समेत फेरिएको छ । विद्यालयमा उनको नाम सरिताबाट ‘साम्बा’ भएको छ ।
पहिलो लायन्स कपमा ४ गोल गरेकी उनले यसपटक गोलको आकार मात्रै बढाइनन् छात्रा फुटबलमा आफ्नो परिचय समेत स्थापित गरिन् । ‘विद्यालयभित्रको खेलमैत्री वातावरणलाई भरपुर प्रयोग गरेको छु, फुटबलमा राष्ट्र«का लागि खेल्ने सपना छ’ सरिताले भनिन् । उनले महिला टिमबाट देशका लागि खेल्ने अवसर पाएमा मात्रै आफ्नो सपना पूरा हुने बताइन् । गाउँबाट दिदीसँगै पढ्न बेनीबजार आएकी सरिता कक्षा ३ मा पढ्दा पहिलोपटक फुटबल खेलेकी थिइन् । टिमवर्क र एट्याकिङमा रमाउने सरिताले खेलमैदानमा डिफेन्डर,मिडफिल्डर सहित गोलरक्षक बाहेक प्रशिक्षकले दिएको हरेक पोजिसन सजिलै समाल्न सक्ने क्षमता छ । खेलमैदानमा विपक्षीलाई सबैभन्दा त्रास नै सरिता हुन्छिन् । उनीमा बल खेलाउने र प्रहार गर्ने शैली ब्यवसायिक खेलाडीको जस्तो रहेको विद्यालयका खेल शिक्षक राईले बताए ।
अहिलेसम्म विद्यालय बाहेक पर्याप्त लगानी नगरे पनि सरिताले उत्कृष्ट खेल देखाउन सफल भएको शिक्षक राईले बताए। म्याग्दीमा विद्यालयस्तरीय प्रतियोगितामा लामो समय एउटै खेल शिक्षक, धेरै उपाधि जित्नका लागि अथक मेहनत गर्ने शिक्षक राईले समेत पढाइसँगै खेलकुदमा दिएको समय, सीप र मैदानभित्र टिक्ने र जित्ने रणनीतिलाई यसपटक सरिताले सन्तुष्ट हुने गरी प्रयोग गरिन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले सरिता काँचो माटो भएकाले प्रशिक्षण सहित अन्य अवसरका लागि आवश्यक सहयोग गर्ने बताए ।यता लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष ओमप्रसाद शर्माले प्रतियोगिताले प्रतिभा पहिचानमा समेत सहज भएको बताए । प्रतिभावना खेलाडीलाई तालिम दिएर प्रदेश र राष्ट्रियस्तरका खेलमार्फत आफ्नो भविस्य चम्काउने अवसर दिनुपर्ने बताए ।










