म्याग्दीमा एक यूवती विदेशबाट आर्कषक उपहार तथा डलर उपहारको प्रलोभनमा ४ लाख ७५ हजार ठगिएकी छन् । सदरमुकाम बेनीस्थित एक संस्थामा कार्यरत २० बर्षिय शिक्षित यूवतीलाई थप २ लाख पठाएपछि मात्रै उपहार पठाउने बताएपछि आफन्त, साथीभाईबाट थप पैसा खोज्ने क्रममा डिजिटल ठगीमा पाइएको हो । सामाजिक सञ्जालबाट विभिन्न समयमा नियमित कुराकानी गर्ने, आफ्नोतर्फबाट उपहार पठाउन लागेको भन्दै विभिन्न चरणमा गरी उक्त पैसा पठाएपछि थप पैसा नआउने मेसो पाएपछि ठगीमा संलग्न सम्पर्कविहिन भएको पीडित यूवतीका आफन्तको भनाई छ ।
‘तत्कालै खोजीकार्य गर्दा नियन्त्रणबाहिर पुगिसकेको थियो,प्रहरीले पैसा पठाएको खाताको अनुसन्धान गरिरहेको छ,पैसा फर्किने अझै अत्तोपत्तो छैन’ पीडित यूवतीका आफन्तले भने । पीडित ठगीएको उजुरीमा जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेको छ । प्रहरीकै सक्रियतामा पीडित यूवतीले ठगीमा संलग्नले पठाएको नेपालको बैङ्क खातासहित सबै डिजिटल कारोबार रोक्का गरेको छ । पीडित यूवतीले आफ्नो कमाई बाहेक सापटी समेत मागेर पठाएको पाइएको छ । म्याग्दीमा यो एक प्रतिनिधिमुलक घटना मात्रै हो ।
समाजिक सञ्जाल ठगी, बैङ्किङ ठगी, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम, विभिन्न अनलाइन गेममा परी ठगिने क्रम बढेको छ । केही महिना अगाडी बैंकको कर्मचारी भन्दै वान टाइम पासवर्ड (ओटिपी) माग गरी एक संस्थाबाट २ लाख ४५ हजार, डलर पठाउने प्रलोभनमा बेनपा–३ काप्रेकी एक महिलाले १ लाख ६२ हजार, मालिका गापा–३ एक महिलाबाट १० हजार, अनलाइनबाट सपिङ गर्ने क्रममा रघुगंगा–४, दग्नामकी एक महिला ९१ हजार ठगिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
आर्थिक बर्ष २०८२÷०८३ मा १८ वटा ठगीको घटनामा ८ वटा अनलाइनबाट सामान खरिद गर्ने रहेका छन् । १८ डिजिटल ठगीमा धवलागिरी गाउँपालिका–४ का विक थर गरेका एक ब्यक्तिले डलरमा पुरस्कार आउने भन्दै १ लाख ६० हजार र पब्जी खेलको आइटीका लागि बेनपा–८ का एक यूवाले ६० हजार गुमाएको बाहेक सबै किशोरी र महिला छन् । अहिले पीडित जिल्ला प्रहरी कार्यालयमा डिजिटल ठगीका पीडित गिरोहको खोज गर्न भन्दै निवेदन तथा थप जानकारी लिन आउने गरेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए । ‘अनलाइन ठगीमा संलग्नको निशानामा ब्यक्तिसँगै संस्थाहरूपनि परेका छन्, हामीले अनुसन्धान गरिरहेका छौँ,’ प्रनाउ थापाले भने ।ठगीमा संलग्नले एउटा बैंकबाट पैसा निकालेर अन्य बैंकमा ट्रान्सफर गर्ने गरेको पाइएको छ ।
सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने गुनासोको आधारमा प्रहरीले विभिन्न सचेतनामुलक अभियान सञ्चालन गरेपनि थोरै लगानीमा धेरै पैसा कमाउने सपना देखेर ठगीमा पर्ने गरेको जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीले बताइन् । ‘मेरो आफन्तको गुनासो लिएर प्रहरीमा पुगेपछि म्याग्दीमा डिजिटल प्रविधिबाट ठगिनेको संख्या धेरै रहेको पाइयो,अब बालबालिकादेखि बृद्धबृद्धालाई डिजिटल सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्छ’ कार्यबाहक प्रमुख खत्रीले भनिन् ।
जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८१÷०८२ मा अनलाइन माकेर्टिङ, सपिङ,झुक्काएर, वैदेशिक रोजगारी, चिठ्ठा प्राप्त भएको, ओटीपी कोड र फेसबुक एकाउण्ड ह्याक गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।यसबर्ष ठगिनेको संख्या हेर्दा झनै विकराल बन्दै गएको देखिन्छ । सामाजिक संजाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी ठगी गरेको घटनाहरू धेरै रहेकाले विद्यार्थी तथा समुदायस्तरमा सचेतनामुलक अभियानमा सरोकारवाला निकायको समेत साथ आवश्यक रहेको जिसस कार्याबाहक प्रमुख खत्रीको भनाई छ । व्यक्तिगत रूपमा ठगिएका धेरैले परिवारका सदस्यहरूबाट गाली खाने र समाजले थाहा पाउने भन्दै लुकाउने गरेकाले म्याग्दीमा डिजिटल माध्यमबाट ठगिनेको संख्या अधिक रहेको अनुमान प्रहरीले गरेको छ । केही पीडितले मोवाइल एप्स प्रयोग नगरेको र चेकबाट मात्रै कारोबार गर्दै आए पनि कोडबाटै खाताको पैसा निकालेको भन्दै चासो देखाउने गरेका छन् ।
म्याग्दीमा फेसबुक, भाइबर तथा ह्वाट्सएप, म्यासेन्जरबाट विभिन्न बहाना देखाएर रकम ठगी गर्ने मात्र नभई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी बन्ने र कुराकानी गर्दा नग्न र अश्लील तस्बिर तयार गरी रकम असुली गर्ने क्रम बढेको भएपनि समाजमा बदनाम हुने डरले गुपचुप राख्ने गरेको गुनासो समेत भेटिन्छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई भेरिफाइ नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगर्न आग्रह गर्दै आएको छ । बैंकर्स क्लव म्याग्दीका उपाध्यक्ष सुमिन सुबेदीले डिजिटल ठगीबाट जोगिन सबैभन्दा पहिला प्रयोगकर्ता नै सचेत हुनुपर्ने बताए ।
उनले बैंकले ब्यक्तिगत रुपमा फोन गरेर ओटीपी कोड नमाग्ने, तत्काल शंका लागेमा आधिकारिक नम्बरमै फोन गनुपर्ने बताए । खाता ह्याक गरेर रकम झिकिएको गुनासो बैंकमा आउने गरेकोमा प्रक्रियागत रुपमा सहयोग गर्ने गरेपनि म्याग्दीका वित्तिय संस्थाका प्रतिनिधिले ग्राहक सचेत भएमा ठगिनबाट जोगिने बताए । फोन, सामाजिक सञ्जालबाट मागेकै आधारमा मोबाइल एप्सको लगइन र पासवर्ड, खाता नम्बर, ओटीपी कोड लगायतका कुनै पनि बैंकसम्बन्धी विवरण नदिन समेत बैंकर्स क्लव म्याग्दीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई भेरिफाइ नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगरेमा ठगीबाट जोगिन सकिन्छ ।











