---Advertisement---

डिजिटल ठगी बढ्दै

On: December 10, 2025 3:18 PM
Follow Us:

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मुस्ताङका ग्रामीण क्षेत्रसम्म लैङ्गिकसँगै विद्युतीय हिंसा न्यूनीकरणसम्बन्धी नियमित कार्यक्रम भइरहेका छन् ।

विद्युतीय सामग्रीको प्रयोग गरेर हुने हिंसालाई रोक्ने प्रयास भइरहेका बेला मुस्ताङमा अनलाइनबाट ठगिनेको सङ्ख्या बढ्दै छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरकी १९ वर्षीय किशोरी अनलाइन किनमेल (सपिङ) को नाममा तीन लाख रुपियाँ ठगिनुभयो । अनलाइनमा आकर्षक सामान सस्तो मूल्यमा देखिएपछि ९९ हजार रुपियाँको सामान खरिद गर्ने क्रममा झुक्किएर तीन लाख पठाउनुभएकी किशोरीले इलाका प्रहरी कार्यालय ल्होमन्थाङमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । किशोरीका बुवाआमा व्यवसायी हुनुहुन्छ । पीडितले सामानका लागि पठाएको सहित तीन लाख रुपियाँ ठगी गर्ने अहिले सम्पर्कमा छैनन् । 

विदेशबाट आकर्षक उपहार तथा डलर उपहारको प्रलोभन तथा अनलाइनबाट किनमेल गर्ने क्रममा अर्की एक युवतीले एक लाख ८६ हजार रुपियाँ गुमाउनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले पीडितले पठाएको  नेपालको बैङ्क खातासहित सबै डिजिटल कारोबार रोक्का गरे पनि अहिलेसम्म पीडितको पैसा फिर्ता हुन सकेको छैन । 

मुस्ताङमा आर्थिक वर्ष २०८२/८३ मा १६ वटा ठगीको घटनामा अधिकांश अनलाइनबाट सामान खरिद गर्दा ठगिएको गुनासो रहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । सूचना अधिकारी बस्याल भन्नुहुन्छ, “अनलाइनबाट सामानका लागि पैसा पठाउने तर सामान नआउने गुनासो धेरै छ ।” प्रहरी निरीक्षक बस्यालले मुस्ताङको सदरमुकाम जोमसोमदेखि ग्रामीण क्षेत्रसम्म डिजिटल ठगीबाट पीडित रहेको बताउनुभयो ।

न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म ठगिनेमा अधिकांश महिला रहेको र ठगी धन्दामा संलग्न तराई क्षेत्रमा कार्यरत रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पहलमा पीडितको पैसा फिर्ता भए पनि सीमापारिबाट हुने ठगीमा संलग्नलाई कारबाही तथा पैसा फिर्ता ल्याउन समस्या हुने गरेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । 

भारतबाट तराईका विभिन्न जिल्लामा आएर नेपालीलाई ठगी गरी सम्पर्कविहीन हुने गरेको देखिएको प्रहरी निरीक्षक बस्यालको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८१/८२ अनलाइनबाट ठगिनेमा १९ जना रहेकोमा यस वर्ष ठगिनेको सङ्ख्या हेर्दा झनै विकराल बन्दै गएको देखिन्छ । पछिल्लो समय सामाजिक सञ्जाल ठगी, बैङ्किङ ठगी, सपिङ तथा पेमेन्ट, चिट्ठा, लाइसेन्स नवीकरणको बहाना, टाइम पासवर्ड (ओटिपी) माग गरी खाताबाट पैसा निकाल्ने गरिन्छ । अनलाइन ठगीमा संलग्नले पीडितले पठाएको पैसा निकालेर अन्य बैङ्कमा ट्रान्सफर गर्ने गरेको पाइएको छ । 

सामाजिक सञ्जाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी ठगिनेको सङ्ख्या बढ्दै जान थालेपछि मुस्ताङका पाँच वटै स्थानीय तहमा इलाका प्रहरी कार्यालय तथा चौकीबाट भइरहेको समुदायमा आधारित सचेतनामूलक अभियानमा डिजिटल ठगी तथा अनलाइनको दुरुपयोगलाई प्राथमिकता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई पुष्टि नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगर्न आग्रह गर्दै आएको छ । मोबाइल तथा सामाजिक सञ्जालबाट मागेकै आधारमा मोबाइल एप्सको लगइन र पासवर्ड, खाता नम्बर, ओटिपी कोडलगायतका कुनै पनि बैङ्कसम्बन्धी विवरण नदिन वित्तीय संस्थाका प्रतिनिधिले अनुरोध गरेका छन् ।   

Leave a Comment