लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधवार धवलागिरि गाउँपालिका–१, गूर्जामा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक तथा विद्युतीय हिंसा, बालविवाह न्यूनीकरण र मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

धवलागिरि गाउँपालिका, एकीकृत सेवा कार्यालय म्याग्दी र मिलन म्याग्दीको आयोजना, शिक्षाका लागि राष्ट्रिय अभियान, मानवअधिकार एलायन्स र महिला अधिकारका लागि राष्ट्रिय अभियानको समन्वय एवं सहकार्य तथा वडा कार्यालय गूर्जाको व्यवस्थापनमा अभियानअन्तर्गत सचेतनाको कार्यक्रम सम्पन्न गरिएको थियो । सोही अवसरमा ७७औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पनि मनाइएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबै अभिभावकहरुले आ–आफ्ना बालबालिकालाई सकारात्मक बाटोमा अगाडि डो¥याउनुपर्ने बताउनुभयो ।

उहाँले बालबालिकाहरुलाई बालविवाह र विद्युतीय हिंसाबाट जोगाउन अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने बताउँदै जनकल्याण मावि गूर्जामा शैक्षिक व्यवस्थापनमा जिल्ला समन्वय समितिबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गूर्जाको विकास र प्रवद्र्धनमा पालिकामार्फत आवश्यक पहल गरिएकाले आफ्नो कार्यकालभित्रै गूर्जालाई सडक सञ्जालसँग जोडिने बताउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले लैङ्गिक हिंसा न्यूनीकरण अभियानसँगै जिल्ला प्रशासन कार्यालयको सेवालाई गूर्जावासीको घरदैलोमै ल्याइएको बताउनुभयो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले गूर्जावासीलाई लक्षित गरेर जिल्लाबाट उपलब्ध हुने सेवाहरु पालिकाको पहलमा गूर्जा गाउँमा नै ल्याएर सेवा प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले विद्युतीय हिंसाको वर्तमान अवस्था र कानुनी प्रावधान, जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले बालविवाहको वर्तमान अवस्था, मानवअधिकारसहित विविध विषयमा कानुनी व्यवस्था र महिला अधिकारकर्मी जमुना आचार्यले अभियानको जानकारीसहित लैङ्गिक हिंसाको अवस्था, समस्या एवं चुनौतीको विषयमा सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा गाउँपालिकासहित जिल्लास्थित सरोकारवाला निकायसँगको समन्वयमा सञ्चालित सचेतनामूलक कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा आयोजित सार्वजनिक सेवा प्रवाहको सम्बन्धमा सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्नुका साथै १४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण तथा ३५ जनाको फाराम सङ्कलन गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा समुदायमा सरकारी वकिल कार्यक्रम सञ्चालन गरिएको थियो भने सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीका प्रहरी नायव उपरीक्षक लिलाबहादुर भूजेलले सशस्त्र प्रहरीको सेवा प्रवाहबारे जानकारी गराउनुभयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालयबाट नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन तथा जिल्ला निर्वाचन कार्यालय म्याग्दीबाट विगतका निर्वाचनमा वितरण गर्न बाँकी रहेका ४३ वटा मतदाता परिचयपत्र वितरण, मतदानस्थल अनुगमन तथा निरीक्षण र मतदाता नामावली अद्यावधिकबारे जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताउनुभयो । त्यस्तै एकीकृत सेवा कार्यालयको आयोजनामा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत (लैङ्गिक हिंसा, बालविवाह र दाइँजो प्रथा)को विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको कार्यालय प्रमुख सम्सेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षता, गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा दवाडीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका गुल्मपति रामभोला खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विजय पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, स्थानीय जनप्रतिनिधिको विशेष उपस्थिति रहेको थियो जनकल्याण मावि गूर्जाका शिक्षक तथा विद्यार्थी र स्थानीयवासीले उल्लेख्य सहभागिता जनाएका थिए ।










