म्याग्दीको धवलागिरी गाउँपालिका–१, गुर्जाकी ८८ बर्षिया गौतमी छन्त्यालले गाउँमै राष्ट्रिय परिचय बनाउनुभएको छ । एउटा हात नचल्ने, कान राम्रोसँग नसुन्ने छन्त्यालको जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा आयोजित शिविरमा परिचयपत्र बनाउन करिब एक घण्टा लाग्यो । राष्ट्रिय परिचयपत्र नहुदाँ सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित हुनुपर्ने अवस्थामा रहनुभएकी छन्त्यालले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा आएर सेवा लिने सम्भावना न्यून थियो । भौगोलिक रुपमा विकट तथ बिरामी बृद्धा छन्त्यालले घरदैलोमै राष्ट्रिय परिचयको सुविधा पाएपछि परिवारका सदस्य नै दंग छन् ।

बृद्धा छन्त्यालजस्तै पूर्णरुपमा अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिएका थिए । शिविरमा १४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण तथा ३५ जनाको फाराम सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।
‘सदरमुकाम आउनै नसक्नेलाई वडामै पुगेर सेवा दिन पाउँदै उत्साहित छौ, यो सेवालाई भौगोलिक रुपमा विकट अन्य बस्तीसम्म पुगेर प्रदान गर्नेछौ’ प्रजिअ तिवारीले भन्नुभयो । राष्ट्रि«य परिचय पत्र नहुदाँ सामाजिक सुरक्षा भत्ताबाटै बन्चित हुनुपर्र्ने अवस्थाको अन्त्य गर्नका लागि शिविरले सघाएको वडा अध्यक्ष झक छन्त्यालको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा आयोजित सार्वजनिक सेवा प्रवाहको सम्बन्धमा सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनले सेवा प्रवाहलाई सहज बनाउनका लागि समुदायस्तरमा सञ्चालन हुने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले कार्यालममै रहेका परिचयपत्र सहित नयाँ परिचय पत्र दर्ता शिविर सञ्चालनले नागरिकलाई सहज भएको छ ।










