म्याग्दी नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र बहादुर थापाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत थापाले अब सक्रिय भूमिका रहन नसक्ने जानकारी गराउनु भएको हो ।
एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका थापाले एघारौ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको सक्रिय भूमिकामा नरहने घोषणा गर्नु भएको हो । दुइ कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल प्रतिनिधिसभा सदस्य, जिल्ला विकास समिति म्याग्दीको पूर्व उपसभापति लगायतका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका थापा पार्टीमा अनेरास्ववियूको प्रारम्भिक कमिटिदेखि पार्टीको केन्द्रीय सदस्यसम्मको भूमिका निभाउनु भएको छ ।
अनेरास्ववियूको प्रारम्भिक कमिटि, म्याग्दी जिल्ला सम्मेलन आयोजक कमिटिको संयोजक, यूवा संघ नेपालको जिल्ला उपाध्यक्ष, केन्द्रीय सदस्य, पार्टीको गाउँ कमिटि सचिव, इलाका कमिटि सचिव, जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं. २ को इन्चार्ज, जिल्ला कमिटि उपसचिव, सचिव, तत्कालिन धौलागिरी अञ्चल कमिटिको सचिव हुदै पार्टीको केन्द्रीय कमिटि सदस्य बनेको थापाले जानकारी गराउनु भएको छ ।
म्याग्दी क्याम्पसको पहिलो स्ववियू कोषाध्यक्ष भएका थापाले पार्टीका विभिन्न तहमा रहेर पार्टी र जनताको काम गर्ने अवसरका लागि पार्टीका नेता, कार्यकर्ता, म्याग्दीवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । २०५४ मा जिल्ला विकास समिति म्याग्दीको उपसभापति भएका थापा २०७४ को आम निर्वाचनमा म्याग्दीबाट संघीय सांसद बन्नु भएको थियो ।
२०४६ सालको परिवर्तन पछि २०४८ सालको आम निर्वाचनमा उमेदवार भएका, त्यस यता लगातार उमेदवार बनेर सांसद भएका, मन्त्री भएका, पार्टीको केन्द्रीय कमिटिमा छैठौ महाधिवेशन, सातौ महाधिवेशन, आठौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएकाहरु अहिले पनि त्यही पदका लागि मरिहत्ते गरीरहनेहरुका अगाडि नवौ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थापाले विश्राम लिने निष्कर्ष एउटा सन्देश हुने एमालेका एक युवा नेताले बताए ।
बाचुञ्जेल पार्टीको जिम्मेवारी नछोड्ने, नारा युवालाई अगाडि बढाउने ल्याउने तर विभिन्न बहानामा पार्टी कब्जा गरेर बस्ने, पदका लागि जे पनि गर्ने प्रवृतिलाई थापाले निर्णयले सांकेतिक रुपमा झापड हानेको एमाले वृतमा चर्चा छ । पार्टीको केन्द्रमा पुगेपछि जे जसरी हुन्छ, पार्टीका नेताहरुको वरिपरी चक्कर लगाएर, विभिन्न खालका गतिविधि गरेर पद पाइराख्ने प्रवृति विद्यमान रहेको समयमा थापाले लिएको निर्णय एउटा झड्का हुने उनले बताए ।
युवा जनशक्तिलाई राजनीतिमा आकर्षण गर्न, उनीहरुलाई सक्रिय राजनीतिमा अगाडि ल्याउनु पर्ने समयमा ३/४ दशकदेखि पार्टीको केन्द्रीय कमिटि र संसदको उमेदवार बन्नेहरुकै हाली मुहाली हुने अवस्थाको अन्त्य गर्न आवश्यक छ । थापाले पारीवारिक कारणले पार्टीको सक्रिय भूमिका रहन नसक्ने जनाउदै आन्दोलनप्रतिको निष्ठा र इमानमा कमी नआउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।









