हरिकृष्ण गौतम
म्याग्दी बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा अध्ययनरत बेनी नगरपालिका–९,गिठीनीकी श्रेया श्रेष्ठले उत्पादन गरेको हिमालयन ट्वाक्क टिम्मुर’ बजारमा आएको छ। म्याग्दी बहुमुखी क्याम्पसबाट टिम्मुर खेतीका लागि विश्वविद्यालय अनुदान आयोगबाट उद्यमशिलता विकास कार्यक्रमबाट छनौट भएपछि उत्पादनमा जोडिनुभएकको श्रेष्ठले क्याम्पसका प्रमुख श्रीधर सुबेदीलाई बिक्री गरी बजारमा लैजान सुरू गर्नुभएको छ ।
शुक्रबार क्याम्पसमा पुगेर विद्यार्थी श्रेष्ठले क्याम्पस प्रमुख सुबेदी,सहायक क्याम्पस प्रमुखद्धय नारायणप्रसाद सुबेदी, पशुपति ढकाल,क्याम्पसका उद्यमशीलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदी, उपप्राध्यापक तारानाथ शर्मा लगायतलाई १५ वटा बट्टा बिक्री गर्नुभएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिमबाट श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीमा पाइनेटिम्मुर खेती,प्रशोधन र बजारीकरणका लागि प्रस्ताव पेश गरेका थिए।‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाका बारेमा श्रेया र श्रीकृष्णले विभिन्न चरणमा ब्यवसायीक योजना सहित प्रस्तुत गर्नुभएको थियो । पहिलोचरणमा श्रेयाले उक्त परियोजनाबाट ब्यवसायीक टिम्मुर खेतीका लागि बिनाव्याज ऋण अन्तर्गतको पहिलो किस्ताको रकम बिऊ पुँजीस्वरुप चारलाख ३२ हजार रुपैयाँ पाउनुभएको थियो । परियोजनामा छनौट भएपछि पुरानो र गाउँबाट खरिद गरी मिसावट रहित टिम्बुर बजारमा ल्याएको श्रेयाको भनाई छ ।

‘यो मेरो पहिलो प्रयास हो, गाउँमा उत्पादन हुने टिम्बुर पनि खरिद गरी बजारमा लैजान्छु,क्याम्पसले मलाई उद्यमी बनाएको छ, धेरै खुसी छु’ श्रेयाले भनिन् । उद्यमशिताबाट अनुदान पाएपछि श्रेयाले १० बर्षका लागि २० रोपनी जग्गा भाडामा लिएर डेढ सय टिम्बुरको बिरूबा समेत लगाउनुभएको छ । पहिलो चरणमा १ हजार बट्टा बिक्रीका लागि तयारी गर्नुभएको छ।
पहिलो किस्ताबापत प्राप्त अनुदानले नयाँ बिरूबा विस्तार गर्ने,जग्गा ब्यवस्थापन सहित आवश्यक क्षेत्रमा खर्च गरेको बताउनुभयो । दुई जनाको संयुक्त परियोजना छनोट भए पनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उनले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने विद्यार्थी बिच सहमति भएको थियो ।

श्रेयाले किस्ता–किस्तामा सात लाख २० हजार बिनाव्याज ऋण प्राप्त गर्ने क्याम्पस प्रमुख सुबेदीले बताउनुभयो । ‘हामीले पढाईसँगै विद्यार्थीलाई उद्यमी समेत बनाउने प्रयासमा यो सफलता मिलेको छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । क्याम्पसले विद्यार्थीको उत्पादनलाई बिक्रीमा समेत सघाउने छ ।
यसैबीच स्वतन्त्र विद्यार्थी यूनियनका स्ववियु सचिव मञ्जुर कटुवाल क्षेत्रीले क्याम्पसका विद्यार्थीको उत्पादनलाई बजारीकरणमा सघाउने बताउनुभयो। विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले हालै आयोजना गरेको उद्यमशीलता तालिममा १३ जना विद्यार्थीले आ–आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावमा उद्यमशिलता सहायता परियोजनाका लागि १८ वटा क्याम्पसका विद्यार्थीको प्रस्तुतीकरणबाट विश्व विद्यालय अनुदान आयोगको उद्यमशीलता सहायता कार्यक्रमअन्तर्गत विभिन्न प्रक्रिया पूरा गरेर छनोट भएका परियोजनालाई ऋण उपलब्ध गराइएको थियो । ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशीलता प्रवद्र्धन कोषमा राखिने छ । आयोगले गतवर्ष उपलब्ध गराएको रु १५ लाख बजेटबाट क्याम्पसले विद्यार्थी र उद्यमीलाई दुई महिना तालिम दिएको थियो ।








