आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाको मतदानस्थल र सुरक्षाका लागि अनुगमन गरिएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी सहितको सुरक्षा निकायको टोलीले धवलागिरी–१ गूर्जास्थित जनकल्याण मावि सहित लुलाङ र मुनामा रहेका मतदान स्थलको अवस्था र सुरक्षा योजना निर्माणका लागि अनुगमन गरेको हो । जिल्ला सुरक्षा समिति म्याग्दीले जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदानस्थलको निरीक्षण सुरू गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।
जिल्लाभित्रका सबै मतदानस्थलमा सुरक्षा समितिको अनुगमनको क्रममा विकट क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको प्रअि तिवारीको भनाई छ । प्रजिअ तिवारीले निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको जानकारी दिनुभयो ।
मतदानस्थलको अनुगमनमा प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा,गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका गुल्मपति रामभोला खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विजय पौडेल,सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीका प्रहरी नायव उपरीक्षक लिलाबहादुर भूजेल, निर्वाचन अधिकृत बिमलप्रसाद गौतमको उपस्थिती रहेको थियो ।
मतदानस्थलको निरीक्षणको क्रममा मतदाता परिचयपत्र वितरण समेत गरिएको थियो । म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल रहेका छन ।







